• १२ मंसिर २०८१, बुधबार

म्याग्दी र कालीगण्डकी नदीमा पक्की पर्खाल

blog

बेनीलाई संरक्षण गर्न कालीगण्डकी नदीमा निर्माण गरिएको ‘काउन्टर फोर्ट’ पर्खाल र बेनी बजार ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), साउन १८ गते । कालीगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्षअघिदेखि जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो । 

परियोजनाले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी बजार, गलेश्वर, राममन्दिर, बगरफाँट, पर्वत बेनी र मङ्गलाघाट बजार संरक्षणका लागि नदी किनारमा पक्की तटबन्ध निर्माण गरेपछि बजारवासीले सुरक्षित महसुस गर्न थालेका छन् । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो, “बेनी नगरपालिका–७ को जेसिज भवनदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको भवनसम्म कालीगण्डकी नदी कटानका कारण बजार जोखिममा परेको थियो ।” रूपताल संरक्षण परियोजनाले कटानको उच्च जोखिम क्षेत्रमा पक्की पर्खाल निर्माण गरेपछि बेनी बजार सुरक्षित भएको महसुस गरेका छौँ ।” दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित ४८ करोड रुपियाँ लागतका नौ वटा योजना डेढ वर्षको अवधिमा सम्पन्न भएका छन् । 

परियोजना पोखराका इन्जिनियर कृष्णबहादुर विकले योजना सम्पन्न गर्न तोकिएको मितिभन्दा छदेखि १० महिनाअगाडि सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजनाका तर्फबाट बेनी संरक्षणका लागि म्याग्दी, कालीगण्डकी र रघुगङ्गा नदीमा पक्की पर्खाल निर्माण गर्ने नौ वटा ठुला योजना सम्पन्न भएका छन् ।” बेनी नगरपालिका–७ स्थित जेसिज भवनदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको भवनसम्म कालीगण्डकी नदी कटानको उच्च जोखिम क्षेत्रमा १६४ मिटर लम्बाइ भएको काउन्टर फोर्ट पर्खाल (नयाँ प्रविधिको हेभी पर्खाल) निर्माण गरिएको उहाँले बताउनुभयो । “यो क्षेत्र अति नै उच्च जोखिम देखिएकाले यो प्रविधिको पर्खाल निर्माण गरेका हौँ इन्जिनियर विकले भन्नुभयो, “यो प्रविधिको पर्खाल धेरै महँगो पर्दछ । ३२, १६ र १२ एमएमको गोलाइ भएका रड प्रयोग गरेर बलियो कङ्क्रिट पर्खाल निर्माण गरेकाले बेनीलाई सुरक्षित बनाउने विश्वास छ ।” 

उहाँका अनुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गरिएको छ । परियोजनाले योजना सम्पन्न गर्न नौ करोड ५६ लाख रपियाँमा रौतहट–बिएनबी कन्स्ट्रक्सन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । 

यसैगरी कालीगण्डकी र रघुगङ्गा नदी कटानको उच्च जोखिममा परेको धार्मिकस्थल राममन्दिरको संरक्षण गर्न कालीगण्डकी नदी किनारमा चार करोड ३२ लाख ७९ हजार रुपियाँ लागतमा १३८ मिटर दुरीको कम्पोजिट पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–७ को मङ्गलाघाट बजार संरक्षणका लागि दुई प्याकेजमा गरेर करिब १० करोड रुपियाँको लागतमा २६२ मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजनाले जनाएको छ । 

कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको पर्वतको जलजला गाउँपालिका–३ स्थित पर्वत बेनी बजार संरक्षणका लागि तीन करोड पचास लाख रुपियाँ लागतमा पर्खाल निर्माण गरिएको छ । योजना अन्तर्गत आमा समूहको भवनदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म ८४ मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजना इन्जिनियर विकले जानकारी दिनुभयो । पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर बगरफाँट बस्ती संरक्षणका लागि कालीगण्डकी नदी किनारमा तीन करोड २० लाख रुपियाँ लागतमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिएको छ । यसै गरी बेनी नगरपालिका–२, भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको दुई करोड ३० लाख रपियाँ लागतमा बनेको कम्पोजिट पर्खाल गत वर्ष नै सम्पन्न भएको थियो । 

गलेश्वर क्षेत्रलाई कटानबाट संरक्षण गर्न रघुगङ्गा नदी किनारमा दुई करोड ६८ लाख ३८ हजार रुपियाँ लागतमा ९० मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजना कार्यालय पोखराले जनाएको छ । रूपताल संरक्षण परियोजनाले सञ्चालन गरेका योजना सम्पन्न भए पनि अझै केही स्थानमा पक्की पर्खाल लगाउन बाँकी रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बेनी–२ को भसभसेमा पक्की पर्खाललाई विस्तार गर्नुपर्ने र बेलिब्रिज पुलदेखि खुला मञ्चसम्म म्याग्दी नदी किनारमा पक्की पर्खालको आवश्यक रहेकाले सम्बन्धित निकायमा बजेट माग गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।