• १३ साउन २०८१, आइतबार

विराटनगरमा स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठी

म्यादी प्रहरी राज्यका अभिन्न अंग हुन् : गृहमन्त्री खाण

blog

बैठकमा सहभागी गृहमन्त्री बालकृष्ण खाणलगायत । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय ।

विराटनर, वैशाख २१ गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी राज्यको अभिन्न अंग भएको बताउनुभएको छ । 

बुधबार साँझ विराटनगरमा भएको सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले भर्ना भएका एक लाख म्यादी प्रहरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाप्रति विश्वास जगाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।

 ‘म्यादी प्रहरी राज्यको अभिन्न अंग हुन् । स्थानीय तह निर्वाचनसम्म उनीहरुले सुरक्षा निकायमाथि विश्वास गर्ने वातावरण निर्माण गर्न सक्ने बताउनुभयो । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘म्यादी प्रहरीको विश्वास जित्न सकियो भने उनीहरू सुरक्षा निकायमा प्रवेश गर्ने चाहना राख्छन् । तसर्थ यो युवालाई सुरक्षा निकायप्रति आकर्षण, विश्वास र भरोसा दिलाउने उपयुक्त अवसर हो ।’

गृहमन्त्री खाणले सुरक्षा निकायलाई आगामी दिनमा नयाँ भर्नामा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्नसमेत निर्देशन दिनुभयो । म्यादी प्रहरीले राष्ट्रका लागि सुरक्षा प्रदान गर्ने भएकाले उनीहरूलाई सम्मान गर्न सुरक्षा निकायलाई गृहमन्त्रीले निर्देशन दिनुभयो ।

सरकारले उपलब्ध गराएको सीमित स्रोत र साधनको उपयोग गरेर असीमित सुरक्षासम्बन्धी काम गरेकोमा गृहमन्त्री खाणले सुरक्षा निकायको प्रशंशा गर्नुभयो । ‘राज्यले सीमित स्रोत र साधन सुरक्षा निकायलाई उपलब्ध गराएको छ । तर, असीमित काम सुरक्षा निकायले गरिरहनु भएको छ । स्रोत साधन पुगेन भनेर उहाँहरूले आफूले बहन गर्नु पर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिएर सराहनीय काम गरिरहनु भएको छ । त्यो कार्य निरन्तर रहिरहोस्,’ गृहमन्त्री खाणले भन्नुभयो । 

एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गर्नु अहिलेका लागि चुनौती भए पनि भोलिका लागि अवसर भएको उहाँको भनाइ थियो । लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री खाणले आवधिक रूपमा निर्वाचन सम्पन्न भएपछि जनताले आफ्ना प्रतिनिधि छानेर सरकार निर्माण गर्ने प्रक्रिया अझ मजबुद् बन्ने बताउनुभयो । 

गोष्ठीमा स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म गरिएको सुरक्षा व्यवस्था र आगामी दिनमा शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्न अपनाउने रणनीतिबारे छलफल भएको थियो।