• २० साउन २०८१, आइतबार

‘रोगबाट बच्न खानापछि नियमित ब्रस गर्नुपर्छ’

blog

काठमाडौँ, साउन २० गते । मुखमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । हिमाल डेन्टल अस्पतालकी कन्सल्टेन्ट पेरोयोडेन्टिक्स एण्ड ओरल इम्प्लान्टोलजी  डा. अञ्जली भट्टराईले मुखमा सबैभन्दा बढी दाँतमा किरा लाग्ने र गिजाबाट रगत आउने समस्या देखिने बताउनुहुन्छ । 

त्यो बाहेक अस्पतालमा दाँत दुख्ने, मुख गन्हाउने, पिप जम्मा हुने, दाँतहरू हल्लिनेजस्ता समस्या लिएर बिरामी अस्पतालमा आउने डा. भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खाना खाएपछि राम्रोसँग दाँत सफा नगर्दा धेरैको दाँतमा किरा लाग्ने समस्याले दु:ख दिने गर्छ । 

डा. भट्टराईका अनुसार दाँतमा किरा लाग्नु भनेको खाना खाइसकेपछि राम्रोसँग ब्रस गरिएन भने दाँतमा फोहोर जम्मा भई दाँतलाई गलाउँदै लैजाने गर्छ । उहाँ भन्नुहुन्छ, “दाँतमा तीन वटा लेयर हुन्छ । खाना खाइसकेपछि राम्रोसँग ब्रस गरिएन भने दाँतमा फोहोर जम्मा भएर दाँत गलाउँदै लैजान्छ । त्यसलाई नै दाँतमा किरा लागेको भनिन्छ ।” 

दाँतमा किरा सबै उमेर समूहका मानिसलाई लाग्छ । पछिल्लो समय पत्रु खानेकुराले बालबालिका र युवाहरूका दाँतमा किरा लाग्ने समस्या बढ्दै गएको उहाँको ठहर छ ।  उहाँ भन्नुहुन्छ, “जङ्क फुडमा फाइवरको मात्रा कम हुन्छ । जङ्क फुड खाएपछि दाँतमा टाँसिएर बस्ने हुँदा दाँतमा छिटो किरा लाग्ने गर्छ ।” 

उहाँका अनुसार दाँतमा किरा लाग्दा सुरुमा दाँतको माथिल्लो भागमा कालो दाँत बस्ने गर्छ । किराले खाएको समस्या बढ्दै गएपछि बिस्तारै चिसो - तातो खाँदा दाँत सिरिङ्ग गर्ने,  दाँत  दुख्नेजस्ता लक्षण देखिने उहाँको भनाइ छ । यस्तो समस्या भएमा तुरुन्त चिकित्सकको परामर्शमा उपचार थाल्न उहाँको सुझाव छ । धेरै बिरामी दाँत दुखेपछि मात्र अस्पतालमा आउने गरेको उहाँ बताउनुहुन्छ । 

खाना खाइसकेपछि राम्रोसँग ब्रस गरिएन भने दाँतमा फोहोर जम्मा भएर दाँत गलाउँदै लैजान्छ । त्यसलाई नै दाँतमा किरा लागेको भनिन्छ ।

किरा लाग्न साथ दाँत फाल्नु नपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार दाँत कुन भाग बिग्रिएको छ त्यही अनुसार उपचार विधि पनि फरक फरक हुन्छ । उपचारमा जति ढिला गर्‍यो त्यति नै यसको उपचार विधि पनि झन्झटिलो हुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “सुरुवाती चरणमा किरा लागेको ठाउँ भर्दा मात्र पनि हुन्छ ।  त्यो भन्दा धेरै बिग्रिएको छ भने जराबाटै उपचार आवश्यक पर्छ । त्यो भन्दा पनि धरै बिग्रिएको छ भने दुई तीन पटक आरसिटी आवश्यक पर्छ ।” 

किरा लागेको दाँतमा साह्रो र टाँसिने खानेकुरा नखान उहाँको सुझाव छ । दाँतमा किरा लाग्न नदिन बिहान बेलुका ब्रस गर्नुका साथै खाना खाइसकेपछि मुख राम्रोसँग सफा गर्न उहाँको सुझाव छ । उहाँका अनुसार दाँत बिग्रन नदिन पोषणयुक्त खानेकुरा खान उहाँको आग्रह छ । 

बालबालिकालाई जन्मिएदेखि नै दुध खुवाउनासाथ दाँत सफा गरिदिन उहाँको अनुरोध छ । साथै छ-छ महिनामा दन्त चिकित्सकको परामर्श गर्न उहाँले आग्रह गर्नुभयो । दाँत किरा लाग्ने समस्यामा केन्द्रित भई हिमाल डेन्टल अस्पतालकी कन्सल्टेन्ट पेरोयोडेन्टिक्स एण्ड ओरल इम्प्लान्टोलजी डा. अञ्जली भट्टराईसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही /केशब गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।