• १३ साउन २०८१, आइतबार

लोकतन्त्रका न्यायाधीश जनता : महामन्त्री शर्मा

blog

धीरज दाहाल
विराटनगर, वैशाख २१ गते ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा जनता नै न्यायाधीश जनता भएको बताउनुभएको छ ।

काँग्रेस जिल्ला कार्यसमितिले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले सो कुरा बताउनुयो । उहाँले स्थानीय तहको निर्वाचनबाट लोकतन्त्रका पक्षमा रहेको दल र जनताको हितका पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गरी न्याय गर्न आवश्यक रहेको बताउनुभयो ।

पहिलो पटक मतदान गर्ने युवा पुस्तालाई निर्वाचनमा भाग लिन आह्वान गर्नुहुँदै शर्माले मतको अधिकार प्रयोग गर्दै प्रश्न सोध्ने अधिकारको प्रयोग गर्न जोड दिनुभयो ।

“युवा पुस्ताले सामाजिक सञ्जालमा मात्र प्रश्न सोध्ने हैन,” शर्माले भन्नुभयो, “मताधिकारको प्रयोग गर्दै असल मानिस चुनेर त्यहाँ प्रश्न गर्न आवश्यक छ ।”

मतदान भनेको न्याय दिने विषय हो भन्दै शर्माले यतिबेला देशको सङ्कटको अवस्थालाई मनन गर्दै युवा पुस्ताले न्याय दिन आवश्यक रहेको बताउनुभएको छ ।

काँग्रेसले राष्ट्रिय आवश्यकताका कारण गठबन्धन गरेको बताउँदै महामन्त्री शर्माले वाध्यताको जगमा बनेको गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको छ ।

“गठबन्धन जनताको मुद्दा बोकेर निर्वाचनमा आएको छ,” शर्माले भन्नुभयो,“ हामी भ्यू टावरवाट सुकुम्वासीका घर हेर्दैनौ, सुकुम्वासीका मुद्दामा काम गर्छौ ।”

उहाँले नेकपा एमालेको घोषणा पत्रको आवरणमा समेत जनताका अनुहारका तस्बिर नभएको भन्दै काँग्रेसले जनताका आवश्यकता र राष्ट्रियताका विषयमा अडिग रहेकोमा जोड दिनुभयो ।

गठबन्धनका कारण पार्टीका कतिपय नेताहरुले अवसर नपाएको भन्नुहुँदै शर्माले काँग्रेस न्यायको पक्षधर भएकाले यसपटक अवसर नपाएकाहरुले अर्को पटक अवसर पाउने भन्दै निराश नहुन आग्रह गर्नुभयो । निर्वाचनमा कसले मौका पायो पाएन भन्ने कुरा बिर्सिएर मुख हैन रुख हेर्न पनि आग्रह गर्नुभयो ।