• १३ साउन २०८१, आइतबार

गाउँपालिका अध्यक्ष पदका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी

blog

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख २१ गते ।
नेकपा एमालेबाट ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्ष उम्मेदवार  मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । खोजविनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पत्र पठाएको बुझिएको छ ।

उम्मेदवार विष्टविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । गत वैशाख १६ गते अदालतले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पक्राउ पुर्जी पठाइएको हो ।

विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा उजुरी परेको थियो । यस विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा विष्टलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शुकदेव खनालले बताउनुभयो । लिखु गाउँपालिकाको एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका विष्टको उम्मेदवारी खारेज नहुने निर्वाचन अधिकृत राजेशकुमार थापाले बताउनुभयो । उहाँले कानुन अनुसार हुने गरी हाललाई मनोनयन पत्र खारेज नहुने जानकारी दिनुभयो ।

आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ । उहाँले २०४७ मा ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिनुभएको देखिन्छ । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिनुभएको पाइएको छ ।

यी दुवै नागरिकतामा उहाँको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ । एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार विष्टको पोकली–४ ओखलढुङ्गा ठेगाना उल्लेख छ ।