• २० असोज २०८१, आइतबार

चुनावले बढायो पेट्रोेलियम पदार्थको माग

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, वैशाख २१ गते स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोेलियम पदार्थको माग बढेको छ । पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल आयल निगमले जनाएको छ । स्थानीय तहमा चुनावी चहलपहल र राजनीतिक दलका प्रसारप्रसार तीव्र हुँदा डिजेल पेट्रोलको माग बढेको हो ।

 नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भइरहेको छ भने डिजेल दैनिक पाँच हजार किलोलिटर माग छ । एलपी ग्यास दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ । यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो । माग अझै बढ्न सक्ने निगमको अनुमान छ । माग बढे पनि आपूर्ति सहज रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । पर्याप्त भण्डारण रहेकाले माग जति बढे पनि आपूर्तिमा समस्या नहुने उहाँको भनाइ छ । 

हाल निगमले ६८ हजार ३७९ किलोलिटर पूर्ण भण्डारण क्षमतामा ७७ प्रतिशत भण्डारण गरेको छ । ११ हजार ३०३ किलोलिटर पेट्रोल भण्डारण क्षमतामा ८१ प्रतिशत भण्डारण रहेको छ । ४४ हजार ८४९ किलोलिटर भण्डारण क्षमतामा ८२ प्रतिशत डिजेल मौज्जाद रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो । आठ हजार १५३ किलोलिटर भण्डारण क्षमता रहेको हवाई इन्धनमा ८९ प्रतिशत भण्डारण भएको छ । मट्टितेल ३८ प्रतिशत भण्डारण छ ।

वैशाख १८ गते इन्डियन आयल कर्पाेरेसनबाट प्राप्त मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि मूल्य समायोजन गरिएको छैन । १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो दुई पटक समायोजन गरेन । निर्वाचनको समय भएकाले घाटा भए पनि पछिल्लो समय मूल्य समायोजन नगरिएको प्रवक्ता उपाध्यायको भनाइ छ । 

निगमका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको थियो । एलपी ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आए पनि समायोजन भएको छैन । पेट्रोलियम पदार्थबाट हाल निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड रुपियाँ घाटा छ ।