• १३ पुस २०८१, शनिबार

निर्यात प्रवद्र्धन गर्न दीर्घकालीन नीति आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २१ गते । आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भातृसंस्था युथ चेम्बरले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र चुनौती र समाधान विषयक’ कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुुभएको हो । 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्र्याकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताउनुभयो । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने विषयमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुुभयो । 

आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो । अर्थतन्त्रमा जोखिम कायमै रहेकाले सरकार संयम हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो । 

मुलुकको अर्थतन्त्रको महìवपूर्ण हिस्सा ओगट्ने निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने भन्दै खतिवडाले घरजग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुुभयो । शिक्षामा अनावश्यक रूपमा विदेशिएको रकम, हुन्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने पनि त्यसले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।  सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि विलासिताका वस्तु आयात नियन्त्रण गरिएको बताउनुभयो । 

सरकार निजी क्षेत्र विरोधी नभएको भन्दै उहाँले आयातलाई दीर्घकालसम्म असर नगर्ने गरी निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभयो । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले केही वस्तुको आयात रोकेको उहाँले जानकारी दिनुुभयो । 

अर्थविद् विश्वास गौचनले अर्थतन्त्रमा केही चाप परे पनि यो अल्पकालीन भएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुको आयात रोकेको आरोप लगाउनुभयो । कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला निजी क्षेत्रसँग छलफल तथा अध्ययनपछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटि चाप परेकाले सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन खोजिएकोे बताउनुभयो ।