• ११ साउन २०८१, शुक्रबार

दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु

blog

वसन्त पराजुली

नारायणगढ साउन ११ गते । भरतपुर महानगर पालिका वडा नम्बर १ भतेरी जङ्गलस्थित नारायणगढ मुग्लिङ सडक खण्डमा शुक्रवार बिहान ६:१० बजे दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुई  ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नं को कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको डिडिजिरो वान एल नाईन १६१   नं  को भारतीय  ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी  ट्रक चालक  भारत उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलम र कन्टेनर चालक पर्सा वीरगन्जका ३३ वर्षका प्रमोद पटेलको  मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सोही ट्रकका सहचालक  भारतकाे गोरखपुर बस्ने वर्ष २२ को सावन  अहमत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

त्यसै गरी कालिका नगर पालिकामा रहेको कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहीबार राती खोलाले बगाउँदा  कालिका १० तीनदोभानका वर्ष ३३ का गम्भीर चेपाङको मृत्यु भएको हो । 

 सिद्धि बजारबाट आफ्नै घर तुइँकराङ घर फर्कने क्रममा कयर खोलाले बगाई बेपत्ता भएको र पछि खोजी गर्दा अलिपर खोला किनारमा मृत भेटिएको छ । 


दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगर पालिका वडा नम्बर ८ अशोक चोकमा गए राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारीले बागमती प्रदेश ०६(००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज तिवारीले  मोटरसाइकल चालक चितवन भरतपुर ७ प्रेम बस्ती बस्ने वर्ष ५० को चण्डीप्रसाद अधिकारीको दुर्घटनामा परी मृत्यु भएको जानकारी दिनुभयो ।

 घाइते भई उपचार गराउन  नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइपुर्‍याएका अधिकारीको  उपचारकै क्रममाा मृत्यु भएको हो ।  घटना स्थलमा  प्रहरी टोली खटिई ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।