• ११ साउन २०८१, शुक्रबार

तातोपानी कुण्डले कमायो एक वर्षमा ९२ लाख

blog

कुण्डमा स्नान गर्दै सर्वसाधरणहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन ११ गते । म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिंगा तातोपानी कुण्डले एकवर्षको अवधिमा करिब ९२ लाख रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा पर्यटक र बिरामी गरेर ४४ हजार जनाले कुण्डमा स्नान गर्दा ९१ लाख ९७ हजार पचास रुपियाँ आम्दानी भएको हो । 

गत आर्थिक वर्ष २०८०-०८१ मा १९ हजार ४ सय ३ जना विरामी र मनोरञ्जनका लागि  २४ हजार ६ सय जनाले कुण्डमा स्नान गर्दा सो अम्दानी भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा पर्यटनमैत्री पूर्वाधार निर्माण भएकाले पछिल्ला वर्षहरुमा पर्यटक आगमन बढेको हो ।    

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई बिरामीहरु डुब्नका लागि एउटा ठूलो पोखरी र पर्यटक तथा पाहुनाहरु स्नान गर्नका लागि  २ वटा फरक–फरक पोखरी बनाइएको छ । 

तीन सय पचास का दरले शूल्क तिरेर ७ देखि १० दिनसम्म उपचारका लागि स्नान गर्ने बिरामीहरुबाट ६७ लाख ९१ हजार ५० र प्रतिपटक १०० का दरले शुल्क तिरेर स्नान गर्ने पर्यटक तथा पाहुनाहरुबाट २४ लाख छ हजार रुपियाँ शुल्क सङ्कलन भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । 

गत आर्थिक वर्षको साउन महिनामा ३७८, भदौमा ३२९, असोजमा १ हजार ५०, कात्तिकमा २ हजार एकसय ४८, मंसिरमा १ हजार पाँचसय ५४, पुसमा १ हजार चारसय ७८, माघमा २ हजार चारसय २४, फागुनमा ३ हजार सातसय ९२, चैतमा ३ हजार नौसय ९९, बैशाखमा १ हजार दुईसय ७५, जेठमा आठसय ७४ र असारमा तीन सय दुई  जनाले ७ देखि १० दिनसम्म स्नान गरेर उपचार गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानबाट बिरामीहरु स्नानका लागि आएका कुण्ड व्यवस्थापन समितिका सचिव केसीले बताउनुभयो ।

तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाहरुले तिर्ने प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

प्रवेश शुल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीहरुको तलब, भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माविका ५ जना निजी स्रोतका शिक्षकहरुको तबलभत्तामा खर्च गरिँदै आएको समितिले जनाएको छ ।