• ११ साउन २०८१, शुक्रबार

आठपहरिया जातिको सङ्ग्रहालय निर्माण

blog

निर्माण कार्य अन्तिम चरणमा पुगेको सङ्ग्राहालय । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, साउन ११ गते । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।

तीन वर्षअघि निर्माण कार्य थालिएको उक्त सङ्ग्रहालयले यतिबेला भने गति लिएको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त सङ्ग्रहालय भवन सङ्घीय तथा प्रदेश सरकार तथा धनकुटा नगरपालिका मार्फत दुई करोड ८ लाख रुपियाँ लागतमा निर्माण गर्न लागिएको हो । 

धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया छेउमा निर्माणको काम भइरहेको उक्त सङ्ग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा उक्त सङ्ग्रहालय निर्माण भइरहेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

पूर्वमन्त्री तथा सङ्घीय सांसद राजेन्द्रकुमार राईको पहलमा २०७८ सालमा ५० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट सङ्ग्रहालय निर्माणको काम थालिएको आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव कोमल किम्दाङ आठपहरियाले बताउनुभयो । उहाँका अनुसार पुरानो शैलीमा खरको छानोबाट निर्माण गरिएको सङ्ग्रहालयको पहिलो तलामा एउटा हलसहित चारवटा कोठा र माथिल्लो तलामा चारवटा गरी जम्मा १० वटा कोठा छन् । 

धनकुटामा आठपहरिया जातिको जनसङ्ख्या करिब ६ हजार ८ सय छ । उक्त सङ्ग्रहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरू, आठपहरिया जातिले लगाउने गरेका परम्परागत गहना राखिने जनाइएको छ ।

यो समुदायले प्रयोग गर्ने वाद्यवादन, हतियार, भाँडाकुँडा जस्ता वस्तुसमेत सङ्ग्रह गरिने आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव किम्दाङ आठपहरियाले बताउनुभयो ।