• ११ साउन २०८१, शुक्रबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: उद्धार मापदण्ड पालना भएन

blog

काठमाडौँ, साउन ११ गते । अठार जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठेको छ । दुर्घटनाका कारण र असरबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पालना नभएको बारेसमेत प्रश्न गरियो । 

आइकाओको एयरपोर्ट सर्भिस म्यानुअल अनुसार विमानस्थलको सीमाबाट चार किलोमिटरसम्मको दुरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमान्ड र कन्ट्रोल रेस्क्यु एन्ड फायर फाइटिङ सर्भिसेस डिभिजनले लिनु पर्छ । म्यानुअल अनुसार विमानस्थलको सीमाभित्र हुने कुनै पनि दुर्घटनामा चार मिनेटभित्र रेस्पोन्स गरिसक्नु पर्छ तर बुधबारको दुर्घटनामा वास्तविक उद्धार झन्डै ३० मिनेटपछि मात्र भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को एयरपोर्ट इमर्जेन्सी प्लान अनुसार पनि विमानस्थलको चार किलोमिटर आसपास हुने हवाई दुर्घटनालाई लक्षित गरेर एलर्ट वान, टु र थ्रीलाई आपत्कालीन अवस्थाका लागि विमानस्थलमा स्ट्यान्डबाई राखेको हुन्छ । विभिन्न प्रकृति अनुसार त्यस्तो तैनाथी ११ तहको हुन्छ ।

अलर्ट वान अन्तर्गत अग्नि नियन्त्रकसहितको टोली, टु अन्तर्गत सम्बन्धित एरियाको प्रहरी र थ्री अन्तर्गत दुर्घटनास्थलमा तत्काल नेपाली सेना परिचालन हुनु पर्छ तर बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा तत्काल परिचालन हुनुपर्ने रेस्क्यु एन्ड फायर फाइटिङ डिभिजनले उद्धारका काममा देखाएको ढिलासुस्तीबारे प्रश्न उब्जाएको हो ।

उद्धार टोलीलाई विमानस्थलभित्र रहेको फायर प्वाइन्टबाट दुर्घटनास्थलमा पुग्न लाग्ने समयलाई निकै गम्भीर र महŒवपूर्ण समयका रूपमा लिइने भएकाले यसमा नियामक निकायको भूमिकालाई समेत गम्भीर रूपमा जोडेर हेरिएको छ । यसमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही पनि प्रश्नको घेरामा परेको छ ।

चाटर र नियमित नरहेको विमानमा परिचारिका उड्न नपाउने प्राविधिक उडानमा नियामक निकायको अनुमतिबिना सर्वसाधारणसमेत राखेर उडाइएको थियो तर सबैलाई सौर्य एयरलाइन्सले आफ्ना कर्मचारी भनेको छ । नौ वर्षीय बालक र ऊर्जा मन्त्रालयका कर्मचारीलाई समेत उसले आफ्नै भनेर सवारी सूचीमा राख्दा नियामक निकायले त्यसको अनुगमन नगरेको स्पष्ट देखिएको छ । 

जहाज दुर्घटनामा संयोगले बाँच्न सफल चालक मनिषरत्न शाक्यले उपचारमा संलग्न चिकित्सकलाई दिएको अभिव्यक्तिले जहाजले एक सय फिटको उचाइ लिएपछि थप उचाइ लिन नसकेपछि नियन्त्रण गुमेको बताउनुले समेत जहाज प्राविधिक हिसाबले उडानयोग्य नभएको प्रारम्भिक निष्कर्ष देखिन्छ । 

नेपालमा हरेक पटक जहाज दुर्घटनापछि बन्ने जाँचबुझ आयोगले औँल्याएका विषयमा नियामक निकाय संवेदनशील नहुँदा दुर्घटना हुने व्रmम बढी नै रहँदा बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले नियामक निकायको क्षमतामाथि प्रश्न उठाउनुभएको छ । एउटै संस्थाभित्र रहेका सेवाप्रदायक र नियामक निकायले बनाएको प्रोटोकल अनुसार तयारी भएको भए समयमा नै उद्धार भएर मानवीय जोखिम कम हुन सक्ने सांसदहरूको विचार थियो । 

छलफलका क्रममा सांसदहरूले नेपाललाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । 

सांसदहरूले हवाई सुरक्षासम्बन्धी विषयमा सुरुमा नियमनकारी निकायका तर्फबाट प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको जवाफ माग गर्दा राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको बताउनुहुँदै आयोगले छानबिन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताउनुभयो । 

उक्त जवाफबाट असन्तुष्ट भएका सांसदले नियमनकारी निकायका प्रमुख आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएपछि अन्तिममा महानिर्देशक अधिकारीले भन्नुभयो, “नेतृत्वको हिसाबले अहिलेसम्म भएका दुर्घटनाको नैतिक जिम्मेवारी मेरो हो । म लिन्छु ।”

१०८ औँ हवाई दुर्घटना

नेपालको हवाई दुर्घटनाको इतिहास कहालीलाग्दो छ । विसं २०१२ देखि सुरु भएको दुर्घटनाको शृङ्खलामा बुधबारको दुर्घटना नै १०८ औँ हो । यससँगै ९५९ जनाको मृत्यु भएको छ । 

पटक पटकका हवाई दुर्घटनाले नेपाली आकाश मात्रै असुरक्षित बनाएको छैन, अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको बदनामी भइरहेकोमा सांसदहरूले चिन्ता व्यक्त गरे ।

समितिको बैठकमा सांसद् उदयशमशेर राणाले भन्नुभयो, “हालसम्म भएको हवाई दुर्घटनामा मानवीय त्रुटिलाई मात्रै दोष देखाएर जाँचबुझ आयोगको प्रतिवेदन आउने छ । प्रतिवेदनले औँल्याएका सुझावलाई लत्याउने प्रवृत्ति छ ।”

उहाँले भने अनुसार चालक दललाई दोष देखाएर प्राविधिक पक्षको कमजोरी ढाकछोप गर्ने प्रतिवेदन दिन चालकको समेत हुने मृत्युले सहज बनाएको थियो तर सौर्यको दुर्घटनामा चालक जीवित रहेको र उहाँले दिएको प्रारम्भिक बयानमा विमानमा प्राविधिक त्रुटि नै रहेको खुलेको छ ।

सांसदहरूले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको अक्षमताका कारण दुर्घटना बढेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । सन् २०२२ यता सात वटा दुर्घटना भएको र तीमध्ये चार वटामा मानवीय क्षति भएकाले नियामक निकायले दुर्घटनाको दोष लिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद एकनाथ ढकालले प्राविधिक उडानमा अनधिकृत नागरिक कसरी प्रवेश गरे ? 

भन्ने प्रश्न गर्दै सम्बन्धित निकायले गरेको लापर्बाहीमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बुधबारको दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने प्रमाणित गरेको छ । विमानस्थलभित्रैको घटनाप्रति नियामक निकाय जिम्मेवारीबाट पन्छिन मिल्दैन ।” यस्तै दुर्घटना र लापर्बाहीका कारण नेपाली विमानका लागि युरोपको आकाश प्रतिबन्धित छ । यसरी नेपालको आकाश असुरक्षित र विदेशी आकाश प्रतिबन्धित कहिलेसम्म रहने भन्ने प्रश्न गर्दै सांसद हरि उप्रेतीले थोत्रा जहाज उडाएर मौसम, भूगोल र चालकलाई मात्रै दोष दिनु उचित नहुने जनाउनुभयो ।

समितिले पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नेपालको हवाई सुरक्षाबारे दिएको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ । सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आइकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिनुभएको हो ।

विमानस्थल क्षेत्रमै ७२ को निधन

प्राधिकरणको तथ्याङ्क अनुसार बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पाँच पटक हवाइ दुर्घटना भएका छन् । जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन् ।

त्रिभुवन विमानस्थलमा पहिलो पटक १९९५ जनवरी १४ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने २३ यात्रु घाइते भएका थिए । 

सन् २००४ अप्रिल २१ मा बुद्ध एयरको जहाज दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । सन् २०१५ मार्च ४ मा टर्किस एयरको वाइडबडी जहाज अवतरणका व्रmममा दुर्घटना हुँदा २३५ जना घाइते भएका थिए । जहाज धावनमार्गबाट बाहिर जाँदा भएको सो दुर्घटनामा मृत्यु भने कसैको भएन ।

त्यस्तै सन् २०१८ मार्च १२ मा 

बङ्गलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० जना घाइते भएका थिए । बुधबार भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन् ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।