• ११ साउन २०८१, शुक्रबार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने प्रयास

blog

बैठकमा सहभागी नेताहरु । तस्विरः रासस

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ११ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो । 

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताउनुभयो । 

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रुप दिने कुरा भएको छ’ उहाँले भन्नुभयो ।

यस्तै, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पनि सङ्क्रमणकालीन न्यायसम्बन्धि विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रुप दिनेगरी आजको बैठक सकिएको बताउनुभयो । ‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नका लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुङ्ग्याउँछ’ उहाँले भन्नुभयो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रमुख सचेतक बर्तौलाले भन्नुभयो । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने उहाँको भनाइ छ ।