• १० साउन २०८१, बिहिबार

बङ्गलादेशमा निषेधाज्ञा आदेश खुकुलो पारियो

blog

फाइल तस्विर

ढाका, साउन १० गते । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । 

विद्यार्थी सङ्गठनले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठुला झडपका घटना भएका छैनन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्याङ्कमा उल्लेख छ । 

हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् । अझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् । 

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्याङ्कमा उल्लेख छ । 

हसिनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।

दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो । गत हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए ।

शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्नेबारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ । 

यस महिनाको र्‍याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ । समूहका एक संयोजक आसिफ महमुदले एएफपीसँग भन्नुभयो, “प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको सामूहिक हत्याका लागि राष्ट्रसँग माफी माग्नुपर्छ भन्ने हाम्रो माग छ ।” “हामी गृहमन्त्री र शिक्षामन्त्रीलाई पनि घटनाको लागि जिम्मेवार ठहर गर्दै बर्खास्त गरियोस् भन्ने चाहन्छौँ” उहाँले भन्नुभयो ।

महमुदले प्रदर्शनमा सहभागी भएको सङ्ख्यालाई कम आँकलन गरिएको बताउनुभयो । एएफपीका अनुसार गत हप्तादेखि सुरु भएको हिंसामा प्रहरीले कम्तीमा दुई हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।

गत जुन महिनामा आधाभन्दा बढी सरकारी जागिर केही वर्गका लागि आरक्षित गर्ने योजना लागू भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका लडेका भूतपूर्व सैनिकका सन्तानका लागि करिब एक तिहाइ आरक्षणको व्यवस्था भएको भन्दै विद्यार्थी समूह आन्दोलित भएका थिए । 

सरकारी आँकडाअनुसार बङ्गलादेशमा करिब एक करोड ८० लाख युवाहरू कामबाट वञ्चित छन् । यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका विद्यार्थीलाई गम्भीररूपमा दुःखी बनाएको छ ।

एएफपीका अनुसार गत हप्तादेखि सुरु भएको हिंसामा प्रहरीले कम्तीमा दुई हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।

यो आरक्षण (कोटा) प्रणाली हसिनाको अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरहरू दिलाउन प्रयोग गरिएको सरकारका आलोचकहरूले बताएका छन् । सर्वोच्च अदालतले आइतबार आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो । तर आरक्षणपूर्ण रूपमा खारेज गर्न प्रदर्शनकारीको माग भने पूरा भएको छैन । 

सन् २००९ देखि देशमा शासन गरिरहेका ७६ वर्षीया हसिना विपक्षीहरूको सहभागिताबिना जनवरीमा भएको निर्बाचनमा लगातार चौथो पटक विजयी हुनुभएको थियो । उहाँको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप पनि लगाएका छन् । रासस–एएफपी