अबुजा (नाइजेरिया), जेठ २ गते । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतङ्कवादीले दर्जनौं स्कुलका बच्चालाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थी अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाले अनुमान गरेका छन् ।
नाइजेरियाली सेनाले सहर छोडेको केही समयपछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् । सेनाले उक्त सहर छोडेको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतङ्ककारीले र प्राथमिक विद्यालय र शिशु स्याहारका बच्चाको अपहरण गरेको बासिन्दाले बताएका छन् ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्षदेखि सशस्त्र सङ्गठनसँग लडिरहेको छ । यी समूहले बारम्बार अपहरण आक्रमणलगायतका आतङ्कवादी क्रियाकलापको माध्यामबाट स्थानीय वासीलाई दुखः दिने गरेको जनाइएको छ । रासस/क्युएनए