• २ जेठ २०८३, शनिबार

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

blog

पत्रकार सम्मेलनमा उपस्थित केबुलकार निर्माण गर्नु पर्छ भन्ने पक्षहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, जेठ २ गते ।
पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको विरोधमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन केबुलकार निर्माण गर्नु पर्छ भन्ने पक्षले आग्रह गरेको छ । शनिबार फुङलिङमा पत्रकार सम्मेलनका आयोजना गरि केबलकार आयोजना धार्मिक पर्यटन, स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण रहेको बन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

पाथीभरा देवी (मुकुम्लुङ) सबै धर्म, संस्कृति तथा सम्प्रदायको आस्थाको केन्द्र भएको उल्लेख गर्दै लाखौँ भक्तजनलाई सहज पहुँच पुर्‍याउन निजी क्षेत्रको लगानीमा केबलकार निर्माण भइरहेकोले यस्तो कार्यलाई अघि बढाउनु पर्ने फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउँनुभयो । जिल्लाका भद्रभलाद्मी, बुद्धिजीवी, धार्मिक तथा सांस्कृतिक संस्था र उद्योगी व्यवसायीहरूको पहलमा एउटा ठुलो लगानी भित्रिएको उहाँको दाबी छ ।

यस्तै केबुलकार आयोजनाले धार्मिक पर्यटकको सुविधा बढाउनुका साथै जिल्लामा अन्य पर्यटकीय पूर्वाधार विकासमा समेत सहयोग पुग्ने भएकाले केबुलकार आवश्यक रहेको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष विकास गौतमको भनाइ छ । उहाँले स्थानीय उत्पादनले बजार पाउने, रोजगारी सिर्जना हुने तथा कोशी प्रदेशसहित समग्र देशको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

केही समययता बाहिरी जिल्लाका व्यक्तिहरू समेत संलग्न भई केबलकार, जलविद्युत्, प्रसारण लाइन लगायत विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको प्रमुख मादेनको आरोप छ । मुक्कुम्लुङ संरक्षण तथा केबलकार खारेजीको नाममा घोषणा गरिएका आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन होटल व्यावसायी सुरेश लिम्बूले आग्रह गर्नुभयो ।

साथै नेपाल सरकारलाई जिल्लामा शान्ति सुरक्षा कायम गरी विकास निर्माणका आयोजना समयमै सम्पन्न हुने वातावरण बनाउन केबुलकार निर्माण गर्न पर्छ भन्ने पक्षको आग्रह रहेको छ । पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका प्रमुख मादेन, उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष गौतम, होटल व्यवसायीहरू र स्थानीय बुद्धिजीवीहरूको उपस्थित रहेको थियो ।

यस अघि बुधबार केबुलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।