• ११ साउन २०८१, शुक्रबार

आठ विद्यालयमा न्यून विद्यार्थी

blog

हिमालपारिको गाउँ लिमीको सुनखानी आविमा अध्ययन गर्ने विद्यार्थीहरू । तस्बिर ः राजन रावत

राजन रावत

हुम्ला, साउन १० गते  । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो ।

नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढाले आफ्नो गाउँपालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेको बताउनुभयो । उक्त गाउँपालिकामा जम्मा चौध वटा विद्यालयहरू रहेका छन् । उहाँले बर्सेनि विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीहरूले विद्यालय छोड्दा यो अवस्था आएको बताउनुभयो । यो सङ्ख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तव मै यो सङ्ख्या  अझै घट्न सक्ने देखिएको छ । प्रमुख बुढाका अनुसार पच्चीस जना भन्दा कम विद्यार्थीहरू भएका विद्यालयहरूमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा बिधार्थीहरुको सङ्ख्या २२ जना रहेको छ ।

त्यसैगरि वडा नम्बर १ कै कक्षा तीनसम्म पढाई हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाई हुने नबुबुद्ध प्राविमा पन्ध्र जना विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ । यता वडा नम्बर ३ को कक्षा तीनसम्म पढाई हुने सत्य प्राविमा २५ जना विद्यार्थीहरू रहनु भएको छ । वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना विद्यार्थीहरू हाल अध्ययन गर्दै आउनु भएको छ । वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनिको प्राविमा सात जना रवडा नम्बर ५ को  कक्षा पाँचसम्म अध्ययन हुने सुनखानी  प्राविमा २२ जना विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ । यता वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना मात्र विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ । त्यस्तै वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने मोतीराम प्राविमा ३९ जना र  कक्षा एक देखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ ।

नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटी रहेको बताउनुभयो । गत वर्ष ५४ जना विद्यार्थीहरू भएकोमा यस वर्ष सो विद्यालयमा २२ जना विद्यार्थीहरूले अध्ययन गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या घटी रहेको बताउँदै विद्यार्थी घट्दैमा विद्यालय बन्द गर्न सकिने अवस्था नरहेको बताउनुभयो । जति विद्यार्थी रहेको पनि उनीहरूको लागि विद्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।