• ६ वैशाख २०८१, बिहिबार

दश दिनदेखि उपत्यकाको फोहाेर सडकमा

blog

काठमाडौं, वैशाख २० गते । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।

पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

काठमाडौं महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहरको गाडी लान नदिने भनेपछि अहिले फोहर लाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिँदा आवतजावत गर्न समस्या भएको छ । फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहाेर विसर्जनमा अवरोध हुँदै आएको छ ।

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भन्नुभयो, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” उक्त स्थान भरिएकाले फोहाेर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहाेर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहाेर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहाेर लाने गरिन्छ । 

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहाेर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहाेरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहाेर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । फोहाेरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउनुहुन्छ ।