• १२ साउन २०८१, शनिबार

धुर्कोटका घरमा राजनीतिक दलका झण्डा नराख्ने दलहरुबीच सहमति

blog

तिलाचन पाण्डे

तम्घास, वैशाख २० गते । गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलको सहमतिमा घरहरुमा झण्डा नराख्ने सहमति भएको छ  । 

यहाँका राजनीतिक दलहरुको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो । 

निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न यहाँका राजनीतिक दलहरुले  घरमा कुनै पार्टीका झण्डा नराख्ने गरी राजनीतिक दलहरुबीच सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता रविन्द्र घिमिरे र नेकपा माओवादी केन्द्रका राजन घिमिरेले पनि झण्डा नराख्ने  सहमति भएको बताउनुभयो । 

जिल्ला सुरक्षा समितिको अनुगमनको क्रममा निर्वाचन अधिकृतको कार्यालयले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीलाई सो जानकारी गराएको हो । 

 धुर्कोट गाउँपालिकामा भएको सर्वदलीय निर्णयको खुलेर सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीले खुलेरै प्रशंसा गर्नुभएको हो  । राजनीतिक पार्टीले निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि एकताबद्ध भएकोमा धन्यवाद व्यक्त गनुर्भयो  ।

 गुल्मीका अन्य स्थानीय तहहरुले पनि धुर्कोटबाट राजनीतिक संस्कार सिक्नुपर्नेमा  उहाँले जोड दिनुभयो  । 

प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वानलाई स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा समिति सक्षम रहेको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । 

धुर्कोटमा ११ वटा मतदानस्थल रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १८ हजार ८७० मतदाता रहेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा १५ मतदानस्थल अति संवेदनशील छन् । त्यस्तै, ४१ वटा मतदानस्थल संवेदनशील र ८६ वटा मतदान स्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

जिल्लामा कुल एक सय ४२ मतदानस्थल र मतदान केन्द्र दुई सय ७९ रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

धुर्कोट निर्वाचन अधिकृतको कार्यालय, तस्विर ः तिलाचन पाण्डे