• १४ वैशाख २०८१, शुक्रबार

दुई वर्षपछि नेपालगञ्जमा ईदुलफितर धुमधामका साथ मनाइयो

blog

मुस्लिम समुदायको महान पर्व ईदुलफितरको अवसरमा स्थानीय ईदगाहमा ईदको सामुहिक नमाज पढ्दै, र ईदगाहमा ईद मिलन गर्दै स्थानीय । तस्विर - सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख २० गते । कोभिडका कारण गत दुई वर्षदेखि सामान्य रुपमा मनाईंदै आएको मुस्लिम समुदायको ईद पर्व यस पटक निकै धुमधामका साथ नेपालगञ्जमा मनाइएको छ । 

कोभिडकै कारण यसअघि दुई वर्ष घरमै नमाज पढेका सो समुदायका हजारौं नागरिकले मंगलबार ईदुलफित्रको सामूहिक नमाज विपि चोकस्थित ईदगाहमा पढेका छन् । लामो समयपछि सामूहिक नमाजको आयोजना गरिएकाले धेरै ठूलो संख्यामा जिल्लाभरका मुस्लिमहरु ईद मनाउन भेलामा उपस्थिति भएका थिए । 

यस पटक धेरै भिडभाड भएकाले ईदगाहको भित्र भन्दा दोब्बर बढी संख्यामा सडकमा नमाज पढेको ईदगाह सञ्चालक समितिका महासचिव ईरफान सिद्दिकीले बताउनुभयो । 

उहाँले दुई वर्षदेखि यो महान पर्वलाई हर्षोल्लासपूर्वक मनाउन नपाउँदा दुखी बनेकाहरु यस पटक एकैचोटी ईदगाहमा ओइरिएपछि समाल्न समितिलाई हम्मेहम्मे परेको बताउनुभयो । 

ईस्लामी क्यालेण्डरको रमजान महिना भरी रोजा राखेर सो महिना सकिए लगत्तै विश्वभरिका मुस्लिम समुदायले मनाउँदै आएको ईद पर्वको अवसरमा मङ्गलबार बिहानै नेपालगञ्जस्थित ईदगाह र मस्जिदहरुमा सामूहिक इदको नमाज पढियो ।

सो अवसरमा सम्बोधन गर्दै धार्मिक अगुवाहरुले देशका शान्ति, समृद्धि र विकासको कामना गरेको धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले इद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा पूर्व सहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले ईदलगायतका चाडपर्वहरुले देशबासीबीच एकता, सदभाव र भाइचारा कायम गर्न सहयोग गर्दै आएको बताउनुभयो । 

उहाँले हजारौंको बलिदानपछि बनेको नेपालको संविधानले सबै धर्म र सम्प्रदायका हक अधिकारलाई संरक्षण गरेको जनाउँदै सोही मार्फत् राष्टिय एकता बलियो हुँदै गएको बताउनुभयो । 

‘दान, त्याग र तपस्याको यस महान पर्वले हामीलाई एकअर्काको सहयोग गर्नुका साथै गरिब र अनाथहरुलाई विशेष माया गर्ने सन्देश दिन्छ’–उहाँले भन्नुभयो । 

ईदको शुभकामना आदानप्रदान गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी प्रमुख एसपी जनक बस्नेत, नेपालगञ्जका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापामगर लगायत 

विभिन्न दलका प्रमुख र स्थानीय तहका उम्मेदवारहरु ठूलो सङ्ख्यामा ईद पुगेका थिए । 

ईदको सामूहिक नमाजपछि एक अर्कालाई अङ्कमाल गरेर ईदको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गरिएको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाबलगायतका परिकार पकाएर आफन्त तथा इष्टमित्रहरुलाई खुवाउने परम्परा छ । 

ईदको अवसरमा नेपालगञ्जका विभिन्न टोलटोलमा समुदायका युवाले ईदमिलन कार्यक्रमको आयोजना पनि गरेका छन् । 


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।