• ७ साउन २०८१, सोमबार

लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

blog

प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा जवाफ दिनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ । 

कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा आजको बैठकमा प्रश्न उठाएको जनाउँदै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गर्नुभयो ।

उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो । “मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दैआएको छु । अब पनि त्यही गर्छु ।’’ 


उहाँले भन्नुभयो, “मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिर्नुपर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्छ, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरूपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ । सदन सदनजस्तै होस् ।’’