• ६ साउन २०८१, आइतबार

सहमति पालना नहुँदा सडकमा आयौँ : वडाअध्यक्ष महर्जन

blog

काठमाडौँ महानगरपालिका वडा २२ का अध्यक्ष चिनिकाजी महर्जन कार्यालयको काम सडकबाटै गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ६ गते । काठमाडौँ महानगरपालिकाको वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले सहमति पालना नहुँदा विरोधस्वरुप सडकमा आउनुपरेको बताउनुभएको छ ।

उहाँले विगतमा बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र साहले न्यूरोडको वृद्धि, विस्तार सम्बन्धमा छलफल हुँदा वडा २४ को क्षेत्रमा काम भइरहेको जवाफ दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकलाई सामान्य भाषामा बोर्ड बैठक भनिन्छ । त्यो बैठकमा न्यूरोडको वृद्धि, विस्तारको विषयमा छलफल हुँदा हाम्रो मेयरले वडा २४ मा काम हुँदा तपाइलाई किन टाउको दुखाइ ? प्रश्न गर्नुभयो ।” 

यस विषयमा छलफल हुँदा वडा २२ क्षेत्रमा काम गर्दा सम्बन्धित वडालाई नै सोधेर सहमति गर्ने भनेर महानगर प्रमुख साहले आश्वासन दिनुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “साहले के कुरा स्विकार्नु भयो भने वडा २२ मा काम गर्दा म तपाइलाई सोधेर गरौँला भन्नुभयो । त्यसपछि अध्ययनको निष्कर्ष मान्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो । एउटा कुरा, सम्बन्धित वडामा सोधिएन र अर्को कुरा अध्ययन भएन । गत नगरपरिषद्को बैठकमा विवाद हुँदा हामीले २८ बुँदे संशोधन प्रस्ताव राख्यौँ । तर उहाँले बैठक स्थगित गर्नुभयो ।”

वडाध्यक्षहरूबिच बसेको बैठकमा प्रमुख साहले न्यूरोडको फुटपाथ सम्बन्धमा राष्ट्रिय–अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सम्बन्धित वडाध्यक्ष र विज्ञको सहमतिमा काम गर्ने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले सडकको काममा अवरोध भयो भनेर मुद्दा हालेको थियो । अन्तर्राष्ट्रिय–राष्ट्रिय मापदण्ड ख्याल गरेर सम्बन्धित वडाध्यक्ष, विज्ञको सहमतिमा काम गर्ने भन्ने थियो त्यो पनि भएन । राजनीतिक इमानदारीताअनुसार सहमतिको पालना नभएकाले विरोध प्रदर्शन भयो ।”

विरोधले आवत–जावतमा असर पर्ला नि भन्ने जिज्ञासामा उहाँले आफूहरू आन्दोलनमा उत्रेकाले यो क्रम केही दिनसम्म चल्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामी आन्दोलन गर्दछौँ । यो दुई, चार दिन लम्बिन सक्छ । हिँड्दा अप्ठ्यारो हुन्छ, यो कुरा सर्वसाधारणमा अनुरोध पनि गर्न चाहन्छु ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।