• ६ साउन २०८१, आइतबार

म्यान्मारमा झाँगिँदै नेपाली साहित्य

blog

कहीँ कतै झुक्किएर नेपालबाट आएका कसैसँग भेटिएर बोलियो भने पहिलो प्रश्न यो हुन्छ कि “तपाईं नेपालमा पढ्नुभएको हो ?” तपाईं नेपाल पुग्नुभएको छ ? पुर्खाको ठाउँ कहाँ हो ? कति पुस्तादेखि यहाँ हुनुहुन्छ तपाईं ? तपाईंको मातापिताले नेपालमा पढ्या हो ?” यस्ता प्रश्नै प्रश्नले घेरिएका हुन्छन् । तर हाम्रो उत्तर भने सधैँभरिलाई “हैन हजुर म त म्यान्मारमै जन्मेको, यहीँ हुर्केको अनि यहीँ पढेको हुँ” जति नै उत्तर दिए पनि प्रश्नको वर्षा रोकिने थिएन । तपाईं नेपाली यसरी शुद्ध कसरी बोल्नु हुन्छ । झुक्किएर तपाईंले नेपालकै हो भने पनि हामी त पत्याउने मान्छे पो प-यौँ । सोधीखोजी लगाउनुस् न पुर्खा कतै नेपाल कै हुनु पर्छ । म भन्छु फेरि हो हजुर हामी यहाँ पाँच पुस्तादेखि छौँ । हजुरबाका दाजुभाइहरू नेपालको नारायणघाट भन्ने ठाउँमा छन् रे । कोही कोहीसँग सम्पर्क त हुन्छ उहाँहरूले ठाउँको ठेगाना त भन्नु हुन्छ ख्वै कता हो कता । कहिल्यै पुगे पो !  माथिका कुरा मसँग मात्र हैन अधिकांश म्यान्माली नेपालीले दिइरहनुपर्ने जवाफ हो नेपालका नेपालीलाई । 

यो पनि पढ्नुहोस

सबै सर्जकको आकर्षण मधुपर्क

शिलालेखहरूको आधारमा म्यान्मारमा नेपालीहरू बसोबास गर्दै आएको करिब २०० वर्ष नाघिसकेको छ । प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धमा म्यान्मारमा स्पर्श गरेका केही गोर्खा सैनिक म्यान्मारको भूमि र वातावरणमा मोहित भएर नेपाल नफर्कने निर्णय गरे । म्यान्मारमा नेपालीभन्दा पनि गोर्खा भनेर परिचित छन् नेपालीहरू । इतिहासलाई प्रेम गरेर म्यान्मार सरकारले चिनेको गोर्खा शब्द र इतिहासमा बहादुरीपनले मिलेको यस शब्द यहाँ लोकप्रिय नै छ । नेपाली भाषामा नेपाली गोर्खाली जेजसो बोलाए पनि म्यान्मारको भाषामा भने गोर्खा लुम्यो (गोर्खा जाति) भनेर चिनिने गर्छन् ।

आज म्यान्मारको सबै राज्यमा गोर्खाली (नेपाली)हरू बसोबास गर्दै आएका छन् । उनीहरू आफ्नो पेसाका रूपमा खेतीपातीलाई नै प्राथमिक दिन्थे । धान रोप्नु, खेत जोत्नु, बालीनाली लगाउनु, गुन्द्रुक, मस्यौदा, सिन्की, अचार जस्ता नेपालीपन आउने विषय वस्तुलाई आफ्नो श्वास रहुन्जेल बचाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्दै गए । आफ्ना रीतिरिवाज र चाड पर्वहरूलाई ठाउँ र गाउँमा अभावलाई बाध्यता नमानी मनाएरै आएका थिए भने आज पनि मनाएकै छन् । यसै सिलसिलामा बच्दै गएको हो नेपाली भाषा भनौँ या नेपाली साहित्य । 

गोर्खा (नेपाली) ले नेपाली गीता, चण्डी, महाभारत, भागवत कथालगायत विभिन्न शास्त्र र पूजापाठका पुस्तकहरू बोकेर ल्याएका थिए तर त्यसबखत उनीहरूलाई यो थाहा थिएन उनीहरूले बोकेर ल्याएका ती पुस्तकहरूले जीवन्तसम्म म्यान्मारमा नेपाली भाषालाई जागृत राख्ने छ भन्नेमा । सबैले धर्मशास्त्र र नेपालबाट सिकेर आएका बोली वचन, भजन र मन्त्रहरूको आधारमा भाषाले तातेताते गर्दै गयो । धेरै सङ्घसंस्था पनि जन्मे, ठाउँ ठाउँमा मन्दिर पनि बने । यहाँ मन्दिर नै सबै भेट्ने मूल स्थल बनेका छन्  । केही बैठक, सभा र तर्क गर्न विषय परेमा मन्दिरको प्राङ्गण नै विशेष रहन्थ्यो । त्यसैले थोरै सङ्ख्या भएको सहर वा गाउँबस्तीमा पनि आफ्नो निजी मन्दिर गराउन सबै आतुर हुन्थे । आज म्यान्मारभर नेपालीहरूको मन्दिर, विहार र धर्मशाला, चर्चको सङ्ख्या ३३० को हाराहारीमा छन् । यही तीर्थस्थलबाटै नेपालीले गोर्खालीपन बचाएका छन् । भाषा र संस्कृति बचाएका छन् ।

केही वर्षपछि कुलबहादुर थापा र उहाँका साथीहरूले पं. ठाकुरप्रसाद गुरागाईंको क्षमता र लगनशीलता देखेर उनलाई नेपाली पाठ्यपुस्तकको जिम्मेवार सुम्पिए । त्यसभन्दा अघि कैयौँ नेपालीले हिन्दी भाषाको अध्ययन गरिरहेका पनि थिए । त्यसैले म्यान्मारली नेपाली साहित्यका कतिपय रचनाहरूमा हिन्दी शब्दको प्रयोग पाइन्छ । उनै पुस्ताले हस्तान्तरण गर्दै आएर संस्कार बन्दै गएको थियो । ठाकुरप्रसादको प्रयास माध्यम शुद्ध नेपाली भाषा अभियान सुरु भएको हो । उनले कक्षागत रूपमा आपूmले जानेका, चिनेका, सुनेका र पढेका ग्रन्थ, शास्त्रीय कथा, कविता निबन्धलाई समावेश गराएर नेपाली पाठ्यपुस्तकको तयारी बनाएका थिए । नेपालको मदन पुरस्कार गुठीले गुरागार्इंलाई जगदम्बा श्री पुरस्कारले सम्मान गरेको थियो । ठाकुरप्रसादबाट निर्मित यी पाठ्यपुस्तकबाट हजारौँ जनताले नेपाली भाषाको अध्ययन गर्न पाए । भानुभक्त, सिद्धिचरण श्रेष्ठ, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता विद्वत् वर्गहरूका रचनाको परिचय उनकै माध्यमबाट म्यान्मारका जनताबिच प्रवेश भएको हो । 

सन् १९८२ मा स्थापना भएको म्यान्मारको एक मात्र उच्च निकाय संस्था अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक सङ्घको माध्यम केन्द्रीय शिक्षा विभागले यी पाठ्यपुस्तकलाई सञ्चालन गर्दै गयो । यी सबै पुस्तक हस्तलिखित थिए भन्दा विश्वास गर्न गाह्रो पर्न सक्छ । केन्द्रीय महासचिवको पदमा लक्ष्मण न्यौपाने आएपछि उनले पाठ्यपुस्तक संशोधन कार्यमा सव्रिmय रहे । तत्अघि उनले कृशु क्षेत्री, दुवसु क्षेत्रीहरूको संसर्गमा भाषाबाट साहित्यको रूपान्तरणबारे चर्चा गरी नेपाली साहित्य डिप्लोमा पनि सुरुवात गरे । 

लक्ष्मण न्यौपानेले पाठ्यपुस्तकलाई दुई चरणबाट म्यान्माली नेपाली पाठशालामा भित्र्याएका थिए । पहिलो पटक नेपालकै पाठ्यपुस्तकबाट म्यान्मारको भूमिसँग सुहाउँदा विषय मात्र छानेर पढाउने र व्याकरणहरूलाई विशेष ध्यान दिएर पढाउन सुचारु गरे । उनले भित्र्याएका पुस्तकका माध्यमबाट नेपाली व्याकरण र साहित्यिक विधाहरूले पनि यस क्षेत्रमा प्रवेश गरेका हुन् । तत्पश्चात् म्यान्माली नेपाली साहित्यले काँचुली फे-यो । 

यहीँ पाठ्यपुस्तकबाट नेपालका वरिष्ठ, चर्चित, ख्याति प्राप्त लेखकहरूको जीवनी पढ्न पाइयो । जसमा कसले चहिँ शारदा पत्रिकामा आफ्नो पहिलो रचना दिएर साहित्य यात्राको थालनी गरेको, मधुपर्कमा आफ्नो निबन्ध प्रकाशितपछि कलमले सिर्जनाको नदी बगाएको जस्ता कुरा सुन्न पाउँदा मलाई मधुपर्क, शारदा, रचना, अभिव्यक्ति जस्ता पत्रिकाप्रति सम्मान बढेको थियो । एक दिन यी पत्रिकाहरू सङ्कलन गरौँला र पढौँला । भरसक प्रयास गरेर आफ्नो रचना पनि पठाउने प्रयास गरौँला भन्ने रहरले सताएको थियो साहित्य बुझेको उमेरदेखि । 

यहाँ थोरै के विषय छोडिएको छ भने ठाकुरप्रसादका पुस्तक जब निर्माण भएका थिए तत् बखत अध्यापकको रूपमा पण्डितहरूको सङ्ख्या बढी मात्रामा हुन्थ्यो । धार्मिक, सांस्कृतिक, परम्परा र रीतिरिवाजले सजिएका ती पुस्तक पढाउन सुयोग्य पण्डितहरूको सव्रिmयता आज पनि म्यान्मारको साहित्य समाज ऋणी नै छ । यी नै पाठशालाको प्रारम्भबाट आजसम्म जातीय परम्परा बचिरहेको छ भन्दा कसैको असहमति नरहला ।

यहाँ मठ मन्दिर र भवनहरूको भूमिका ठुलो छ साहित्यका लागि । विशेषतः वसन्त बिदाइमा जब सरकारी पाठशाला बन्द हुन्छ त्यस बखत मठ मन्दिर र भवनहरूमा नेपाली पाठशाला सञ्चालन हुने गर्छ । यो परम्परा कहाँबाट कसरी कसले सुरु ग-यो पत्ता लगाउन त सकिएन तर सबैभन्दा सुविधा समय भनेको पनि त्यहीँ थियो । 

हरेक शनिबार सत्संग भजनकीर्तन, प्रवचन, विषय बोल, वादविवादलगायतका विविध कार्यव्रmमहरू समावेश हुने यस पाठशालाले वसन्तको चर्को घामलाई बिर्सिन बाध्य बनाउँछ नै । यस वसन्त बिदाइको समयमा पर्ने सरस्वती जयन्ती, चैतेदसैँसहित अन्य पर्वहरूमा पनि शिक्षकले विद्यार्थीलाई सम्बन्धित मन्दिरमा लगेर भजनकीर्तन गराउने तीर्थ यात्राबाट संस्कार बाँच्दै आएको हो । 

यातायात साधनको असुविधाले पनि रोक्न सकेको थिएन । मेरो व्यक्तिगत अनुभव भन्ने हो भने हामी पढ्ने पाठशालाबाट सात किलोमिटर दूर गाउँबस्तीबाट विद्यार्थी आउँथेँ । ससाना बच्चालाई ठुलाले सम्हाल्दै सम्हाल्दै ल्याउँथेँ । एक घण्टाको पैदल यात्रा गरेर भाषा साहित्यप्रति आफ्नो माया बढाउँथेँ । आउँदा र जाँदा बाबु बाजेले रेडियोबाट सुनेका गीत कण्ठ पारेका उनीहरूले गीत गुनगुनाउँदै आउँथे । कुसुमे रुमाल कुसुमे रुमाल । कुसुमे रुमाल । मायाको बारीमा प्रीतिको पूmल सँगाली राखेको कुसुमे रुमाल । यस्तै यतैबाट नेपाली गीत 

सङ्गीतले पनि म्यान्मारमा ठाउँ पाएको हो । पहिला पहिला नेपालबाट आउने जाने भनेको राजधानी युगौँ र मान्डलेका कोही कसैसँग मात्र सम्पर्क रहन्थ्यो । नेपालबाट पुस्तक, उपन्यास, कविता, निबन्ध जस्ता पुस्तक म्यान्मारमा भित्रिन साह्रै गाह्रो हुन्थ्यो । 

आज ४५ सहरका ३२० लगभगका स्थलमा नेपाली पाठशाला सञ्चालन हुन्छ । २१ औँ शताब्दीमा प्रविधिहरूले साथ दिन थालेपछि युट्युब, पिडिएफ जस्ता पुस्तक खोजेर पढ्नेहरूको सङ्ख्या पनि कम छैन । बिस्तारै बिस्तारै भाषा साहित्यको जगेर्ना गर्दै गरेका म्यान्मारली नेपालीहरू र उनको प्रयास विफल हुन सक्दैन अब । 

आज इमेल, जिमेल, फेसबुक र अनन्य ब्लगबाट अरूको रचना पढ्ने र आफ्ना रचना पठाउने कार्य चलिरहेको छ । म्यान्मारको साहित्यले नेपालकै नेपाली साहित्यको दाँजोमा आउने केही वर्ष अझै मेहनत गर्नु त पर्छ नै तर त्यसको निम्ति अग्रज र वरिष्ठहरूको साथ र सहयोगको आवश्यक पर्दछ । आफ्नो रचना आएको पत्रिका वा वेभसाइटमा अरूको पनि पढ्दै आफ्नोमा पनि सुधार ल्याउने चल्ती चल्यो भने म्यान्मारको नेपाली साहित्यले केही कार्य पक्क गर्छ भन्नेमा कुनै शङ्का छैन । 

भाषा बचाऊ अभियानबाट नेपाली साहित्यको वर्तमान श्रेणीसम्मको यात्रा सहज थिएन । यहाँसम्म पुग्न ज्येष्ठ नागरिकहरूको त्याग प्रयास, लगनशील र श्रमको प्रत्येक कुरा इतिहासमा स्वर्णाक्षरले सजिएको छ । निडरका साथ भन्नुपर्दा म्यान्मारमा साहित्य जगत् साँगुरो नै छ । भानु शताब्दी कार्यव्रmम भएको थियो दूतावासमा र त्यसबखत देशभरका साहित्यकारलाई सम्मान गरिएको थियो । त्योबाहेक देशीयस्तरको कार्यक्रम भएका छैनन् । यहाँ साहित्यिक कार्यक्रम छैन भन्दा पनि हुन्छ । भए पनि विशेष गरी भानु जयन्ती, सरस्वती जयन्ती कुनै मन्दिरको मेला, सत्सङ्गहरूमा मात्र हुन्छ । यसलाई यसरी भनौँ धार्मिक विषयसँग गाँसिएका कार्यक्रममा मात्र हुने गरेको छ । त्यसैले त्यहाँ वाचन भएका रचनाका शब्दहरूमा संस्कारको डोरीले बाँधिएको हुन्छ, वाक्यहरूमा परम्पराको हतकडीले थुनिएको हुन्छ । विचार आस्थाको पिँजडाभित्र उडिरहेका हुन्छन् र सिर्जनाहरू शास्त्रार्थ र परम्परागतको बगैँचामा मात्र डुलिरहेका हुन्छन् । 

म्यान्मारमा जब इन्टरनेट चालु भयो र साहित्यहरू युट्युबमार्फत बगेर आयो पहिलो सुनिने भनेकै मुनामदन र गौरी थियो । अच्युत घिमिरेका आवाजमा आउने उपन्यासहरू सुन्दा मजा त लाग्थ्यो तर पढे जति कहाँ हुन्थ्यो र, जब मैले २०१६ पोखराको साहित्यिक फेस्टिबलमा प्रदीप गिरीको महाभारतको प्रमुख पात्र सुनेँ तब अनुमान भयो साहित्य कतिको फराकिलो रहेछ । उनले हिन्दु समाजमा बसेर हिन्दु धर्मकै विषयमा चर्चा गरिरहेका थिए । मलाई सुन्न कस्तो आनन्द लाग्यो र महसुस पनि भयो साहित्य भनेको त यस्तो पो हुँदो रहेछ । 

पछि गुगलमा खोजेर शास्त्रमा खलनायकहरूबारे लेखिएका कृति खोज्न थालेँ र यथासम्भव मगाउन थालेँ । अश्वत्थामा, सकुनी, द्रौपदी जस्ता प्रमुख नायकमा नभएका यी पात्रका बारे पढेँ, सिद्धार्थ पढेँ, दरबार बाहिरकी महारानी पढेँ, जब आनन्द आउन थाल्यो । मैले त्यसबखत नेपालका पत्रिकामा कविता पठाउने गर्थें । अस्वीकार नै हुन्थ्यो । किन ? केलाई, कसरी कुनै जवाफ नै आउने थिएन । तब कोरियाले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगितामा पुरस्कृत उत्तम लिम्बू र निरज दाहालको कवितालाई म्यान्मारमा अनुवाद गरेँ र पोस्ट गरेबापत मलाई महेश पौड्यालसँग गाँसिने अवसर मिल्यो । उहाँले कविता के हो र कसरी सोचिन्छबारे विस्तारमा बुझाउँदै मलाई नेपालको साहित्यतर्फ खिच्दै लिएर जानुभयो । तब कविताको मिठो स्वाद पाउन थालेँ । यसअघि इतिहासका बारे, नारी शक्तिबारे, समाज र सङ्घको सम्मानबारे लेखेर ताली कमाए पनि वास्तविक साहित्यको छेउ पनि नपुगेको आभास भयो । तब महेश सरका कविताहरू पढ्न थालेँ, छोटा कविताको अलग्गै स्वादले मलाई मोहक बनाउन थाल्यो । तब नेपालका साहित्यकारहरूसँग जोडिन पाएँ । 

एक पटक साहित्य पोस्टमा आएको यौन कथा गज्जब लाग्यो र साथीहरूलाई पढ्न दिएँ । उनीहरूले यौन शब्दको शीर्षकबाटै पढ्न रुचाएनन् । तब मैले अनुमान गरेँ हाम्रो साहित्य कतिसम्मको साँगुरो रहेछ र यसलाई सुधार्न कतिसम्मको समय लाग्छ भन्ने । 

अब त म्यान्मारको साहित्य र नेपाली साहित्यमा फरक कत्तिको छ भन्ने प्रश्नबारे मौन रहनु उचित हुन्छ । किनभने यहाँ राजनीति र शासकका कारण स्वतन्त्र रूपले लेख्न पाइँदैन । हाम्रा अभियान्ताहरू धार्मिक क्षेत्रका परेकाले पनि धर्म विरुद्ध, यौन सम्बन्ध, राजनीति सम्बन्धहरू लेख्न वञ्चित थियो । यसो भनौँ म्यान्मारमा नेपाली साहित्यको संसार साँघुरो थियो र आजसम्म पनि छ । यस पर्खाललाई फुटाएर स्वतन्त्र साहित्यको मैदानमा उत्रिन अवधि त लाग्छ नै । यसमा कसैको दोष छैन न नै गल्ती । परिस्थिति र बाध्यताले घचेट्दै लत्रिँदै यहाँसम्म पुगेको म्यान्मारको नेपाली साहित्य संसार कहाँसम्म चम्किन सक्छ त्यो त समयले बताउँछ । 

तर पनि लेख्नेले लेखिरहेका छन् र पढ्नेले खोजी खोजी पढिरहेकै छन् । जातिको भाषालाई मातृभाषाको दर्जा दिएर यसमा समर्पित यिनीहरूको प्रयास कहाँसम्म पुग्छ ? यात्रा सुलभ होला भविष्यमा ? कि बिलाउँदै जाने हो ? यो समयको चव्रmमा दबिएर पर्खिनु अलावा अरू कुनै विकल्प छैन । एक लाखभन्दा थोरै सङ्ख्यामा मात्र बसोबास भएका यहाँ नेपाली साहित्यको बजार छैन । लेखक आफैँ लाग्नु पर्छ, प्रकाशन, छापाखाना र डिजाइन् जस्ता कुराहरूमा पनि छ यहाँ । निःशुल्क वितरण गरेर आफ्नो रचना बाँड्ने संस्कार पनि यहाँ । नेपालबाट पुस्तक ल्याउन पनि त्यति सजिलो नभएको प्रसङ्ग बुझेपछि निराश भएका थियौँ र छौँ पनि । यो कानुन म्यान्मारलाई मात्र हैन नेपाल सरकारले विमान स्थलमा नै सीमित राखेको कुरा सुनिएपछि ल्याइदिन खोज्नेले पनि ल्याइदिन नपाउने कुरो उठ्यो । तर हिजोआज डेलिभरीको जमानाले गर्दा पुस्तक त आउँछ तर पुस्तकको मूल्यभन्दा धेरै रकम यातायातमा खर्च हुने तर पनि नेपालमा प्रकाशित चर्चित पुस्तकहरूलाई मात्र छानेर ल्याउने बाध्यतामा बाँचिरहेको छ यहाँको साहित्य संसार । 

यिनै प्रसङ्ग र सन्दर्भहरूलाई गाँसेर भन्नु पर्दा भाषाको शुद्धता, व्याकरणात्मक विग्रह र थोरै धेरै विषयले साहित्यमा ढिलो भए पनि विचार र सैद्धान्तिक ढङ्गमा हेर्ने हो भने उपर्युक्त विषय सुधारपश्चात म्यान्मारमा पनि चर्चित लेखकहरूको आवगमन हुन केही समय लाग्ने छैन तर आजसम्म लेखिएका साहित्य शीर्षकका लेखहरू साहित्य थिए त ? थिए भने कस्तो साहित्य ?  मधुपर्क

                                     म्यान्मार