• ७ वैशाख २०८१, शुक्रबार

तात्दै छ काठमाडौँको चुनावी माहोल

blog

काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तात्दै गएको छ । यही ३० गतेलाई निर्धारित निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशभरको राजनीतिक माहोल तातेको हो । 

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारद्वय सिर्जना सिंह र केशव स्थापितलाई मतदातासँग भेट्न भ्याइनभ्याइ छ । घरदैलोसम्म पुगेर जय नेपाल, नमस्कार र अभिवादन गर्दैमा उहाँहरूको समय बित्ने गरेको छ । 

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार सिंह केही दिनअघिबाटै घरदैलो सुरु गरेसँगै आफ्नो व्यस्तता बढेको बताउनुहुन्छ । काठमाडौँ महानगरको मेयरमा एक पटक महिलालाई अवसर दिनुपर्ने दाबी उहाँको छ ।  “म जहाँ पुगेँ त्यहाँ चुनावी माहोल राम्रो देखेँ, यसले मलाई जित्न सहयोग पुग्ने विश्वास छ,” उम्मेदवार सिंहले भन्नुभयो, “बिहान ६ बजेदेखि सुरु हुने चुनावी प्रचारप्रसार अभियान राति ८/९ बजेसम्म रहन्छ ।”  

‘सिर्जनाका सात स’ सङ्कल्पपत्र प्रस्तुत गर्दै उहाँले चुनावी एजेन्डा र योजना काठमाडौँ महानगरपालिका र महानगरवासीको हित र सेवामा समर्पित भएकाले मतदातालाई अमूल्य मतदान गरी जिताउन आग्रह गर्नुभयो । पदीय दायित्व र जिम्मेवारी नलिए पनि विद्यार्थी जीवनदेखि काँग्रेसको सक्रिय राजनीतिमा रहेको स्पष्ट पार्दै उहाँले वीर गणेशमानकी बुहारी हुनुमा गर्व छ भन्नुभयो । पारिवारिक राजनीतिक विरासतभन्दा पनि आफू सङ्घर्षबाट उदाएकी महिला भएको स्मरण उहाँले गराउनुभयो । 

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत काठमाडौँ महानगरपालिका १६, १९, २०, २४ लगायतका वडामा काँग्रेसका उम्मेदवारहरूले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको प्रचारप्रसार समितिका सदस्य एवं अधिवक्ता डा. रामशरण थपलियाले बताउनुभयो ।  

त्यस्तै नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार केशव स्थापितले शुक्रबारदेखि सुरु गर्नुभएको घरदैलो चुनावी प्रचारप्रसार अभियान १, २, ४, ५ र ६ वडामा सम्पन्न भएको छ । यसअघि महानगरवासीको सेवा गरिसकेको अनुभवी भएकाले आफूले जित्ने निश्चित रहेको उहाँले बताउनुभयो । “काठमाडौँका मतदाताले केशव स्थापितलाई खोजिरहेका छन्,” उहाँले थप्नुभयो, “तपाईं गएर सोध्नुहोस् न मतदातालाई, के भन्छन् ? काठमाडौँको सम्पदा, संस्कृति, समाज, संस्कार बुझेको र सेवा गरेको मान्छे म नै हुँ ।” नेकपा (एमाले)बाट उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोल अबको नेतृत्व युवाले लिनुपर्ने बताउनुहुन्छ । “हाम्रो चुनावी एजेन्डा नै युवा केन्द्रित छ । विभिन्न बहानामा विदेशमा होइन, अब स्वदेशमै केही गर्ने हो,” उहाँले भन्नुभयो । 

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले ‘गठबन्धन’ नेतृत्वका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको बताउनुभयो । नेकपा (एमाले)लाई पटक–पटक महानगरमा जिताउँदा काठमाडौँका मतदाता थाकिसकेको भनाइ उहाँको छ । 

विवेकशील साझा पार्टीबाट प्रमुखका उम्मेदवार समीक्षा बाँस्कोटा र उपप्रमुखका उम्मेदवार कीर्ति तुलाधर तथा स्वतन्त्र उम्मेदवार बालेन शाहले पार्टीभन्दा पनि काम गर्न सक्ने सामथ्र्य र क्षमता भएकालाई मतदान गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।  काठमाडौँको सरसफाइ, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, राजस्व सङ्कलन, युवामैत्री सेवा, पाका नागरिकको सामाजिक सुरक्षालगायत दर्जन एजेन्डा बोकेर चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार बालेन शाह तथा साना दलका उम्मेदवारहरू पनि घरदैलोमा सक्रिय छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाको मेयरमा ५६ र उपमेयरमा ३१ जनाले उम्मेदवारी दिएका छन् । 

Author

देवबहादुर कुँवर