• ४ साउन २०८१, शुक्रबार

हलगोरु पाल्ने किसानलाई अनुदान

blog

गलकोट (बागलुङ), साउन ४ गते । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत रु पाँच हजारका दरले रकम वितरण गरेको हो । 

नगरपालिकाले पशुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात आर्थिक वर्ष २०८०/८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि चार लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले पाँच हजारका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ । 

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवम् प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० निवेदन सङ्कलन भएको थियो । प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ । 

“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो” उपप्रमुख खड्काले भन्नुभयो “यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तिमा एक किसान १० हजारका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगामी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई १० हजार दिने गरी १० लाख बजेट बिनियोजन गर्ने योजना छ ।”

नगरपालिकाले पहिलोपटक गोरु पाल्ने किसानलाई अनुदान दिन थाले पनि अनुदानका हामीजस्ता किसान उत्साहित बनेको बागलुङ नगरपालिका-१३ का टेके सार्कीले बताउनुभयो । आगामी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको सङ्ख्यामा वृद्धि हुने सार्कीको अपेक्षा छ । हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनभुयो । 

उहाँले मिनी टेलर हलो वितरण कार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो कि भन्ने नगरपालिकाले महसुस गरेर गरेको बताउनुभयो । “स्थानीय तहले कृषिमा आधुनिकीकरणको नाममा मिनी टेलर हलो वितरण गर्ने लहडै चलेको छ, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण पनि गर्ने हो, व्यावसायिक खेती गर्न, शहर बजार नजिकै मिनी टेलर हलो उपयुक्त भए पनि गाउँ-गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मलमूत्रको प्रयोग कृषिमा अपरिहार्य छ भन्ने किसानले महसुस गरेका छन्” । नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब मिनिटेलर हलो वितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्च नै दिइन्छ, गोरु पाल्दा वातावरणमा सकारात्मक असर देखिने रहेछ ।”

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ । गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो । कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरन्तरता दिने नगरपालिकाको योजना छ । नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे÷नगरेको, स्थानीय टोलवासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिएको थियो । रासस