• ४ साउन २०८१, शुक्रबार

पहिरोले तापेथोक बजार जोखिममा

blog

बिहीबार रातिको पहिरोले पुर्‍याएको क्षति र पहिरोको जोखिममा रहेको तापेथोक बजार । तस्बिर सौजन्य: राजन लिम्बू

ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिममा परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।

पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमा पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ, ग्वाली, खोरजस्ता संरचनामा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । पहिरोले पुरेर केही पशुपन्छी मरेको हुनसक्ने गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास)ले जानकारी दिनुभयो । यद्यपि पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण आउनलाई समय लाग्ने उहाँको भनाइ छ ।

यता पहिरोले पुरेर धराप बनाएको संरचना र सामग्रीलाई सुरक्षित गर्न गाउँपालिकाको एक्साभेटर प्रयोग गरी शुक्रवार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । थप जोखिम तथा क्षति हुन नदिने प्रयास स्वरुप गाउँपालिकाको  एक्साभेटर (उपकरण) प्रयोग गरेर पहिरो पन्छाउन थालेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

त्यस्तै बिहीबार राति नै गएको पहिराले सोही गाउँपालिका वडा ६ लेलेपको साँगुमा पनि पहिरो गएको छ । साँगुमा गएको पहिरोले पुरिएर स्थानीयले पालेका केही पशु चौपाया मरेका स्थानीय शिक्षक विवश केदेमले जानकारी दिनुभयो । के कति परिमाणमा पशु चौपाया मरे र अन्य क्षतिको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।