• ३ साउन २०८१, बिहिबार

ट्याक्टर दुर्घटनामा तामाङको मृत्यु

blog

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार प्र १–०२–००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते हुनुभएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका तामाङको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मृतक तामाङ सव अहिले जिल्ला अस्पतालको सवगृहमा राखिएको छ । ढुङ्गेसाँघुको कागतेस्थित भित्री सडक भुसुने स्वास्थ्य इकाई देखि सोही टोल भुसुनेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । उकालो सडकमा ट्रली फसेपछि ट्याक्टर निकाल्ने प्रयास गर्दा करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो ।

ट्याक्टरका चालक सोही ठाउँका सनबहादुर तामाङ भने सकुशल रहेका र तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।