• २ साउन २०८१, बुधबार

सहरी क्षेत्रका बालबालिकामा बढी कुपोषण

blog

रेखीराम राना

तानसेन, साउन २ गते । पाल्पामा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषण बढी देखिएको छ । जिल्लाको दश स्थानीय तहहरूमध्ये दुई वा नगरपालिकामा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या देखिएको हो । 

तानसेन र रामपुर नगरपालिकाभित्र बसोबास गर्ने बालबालिकामा कडा र मध्यम खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दैनिक खानपानमा पत्रु खानाको प्रभावले सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, "कुपोषण समस्या देखिएकामा सहरी क्षेत्रका बालबालिका धेरै छन्, सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाले दैनिक खाने खाना पत्रु भएकाले कुपोषण समस्या बढ्दै गएको हो ।"

स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाभरका चार हजार ८३१ जना बालबालिकामा कुपोषणको अवस्थाको जाँच गरेको थियो । सोही जाँच गर्ने क्रममा तानसेन सात र रामपुरका १३ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको उहाँले बताउनुभयो । 

पछिल्लो समय परम्परागत खानाभन्दा तयारी खाना, चाउचाउ, चाउमिन, बिस्कुट, मम, कोक, लेजजस्ता खानेकुराले कुपोषण हुने बालबालिकाको सङ्ख्या वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । कुपोषणको अवस्था सुधार गर्नका लागि परम्परागत खाना, घरमै बनाएको खाना, हरियो सागपात र फलफुल खानुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

जिल्लाभरका २८ जनामा कडा खालको कुपोषण देखिएकोमा सहरी क्षेत्रमा बसोबास गर्ने मात्र २० जना रहेको कार्यालयले जनाएको छ । यस्तै बगनासकाली गाउँपालिकाका चार, निस्दीका दुई, तिनाउ र रम्भाका एक-एक जना बालबालिकामा कडा खालको कुपोषण पुष्टि भएको छ । 

जिल्लाभरका दश स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययन्रत बालबालिकाको पोषण अवस्था जाँच गर्दा १२९ जना बालबालिकालाई मध्यम खालको कुपोषण देखिएको छ । मध्यम खालको कुपोषण हुनेमा पनि सहरी क्षेत्रकै बालबालिका धेरै रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । मध्यम खालको कुपोषण हुनेमा रामपुरका ३६ जना र तानसेनका २० जना रहेको उहाँले जानकारी दिनुभयो । 

स्वास्थ्य कार्यालयले कुपोषणको अवस्था हेरेर कडा कुपोषण भएका बालिबालिकालाई उपचार गर्न पुनस्र्थापना केन्द्रमा पठाएको छ । केही बालबालिकालाई भने अभिभावकलाई आवश्यक परामर्श दिएर जिम्मा लगाइएको छ । १० वर्षदेखि १८ वर्षभित्रका बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच गरिएको थियो ।