• १ साउन २०८१, मङ्गलबार

ताप्लेजुङबाट ४९ करोड बजेट फ्रिज

blog

सदरमुकाम फुङ्लिङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते। ताप्लेजुङबाट गत आर्थिक वर्षमा ४९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा कुल ४९ करोड ९६ हजार ३२८ रुपियाँ रकम फ्रिज भएको छ। ताप्लेजुङका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट उक्त बजेट फ्रिज भएको वा खर्च हुन नसकेको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो।

गत आवको चालु बजेटतर्फ ३१ करोड ८८ लाख छ हजार १७३ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको पोखरेलले बताउनुभयो। यस्तै पुँजीगत बजेटतर्फ १७ करोड २२ लाख ९० हजार १५५ रुपियाँ रकम खर्च नभएको अर्थात् फ्रिज भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०८०/८१ मा जिल्लाका लागि कूल पाँच अर्ब ६३ करोड ५० लाख ७५ हजार ४३८ रुपियाँ बजेट विनियोजन भएको थियो। उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ३९ करोड ५१ लाख ९१ हजार ८२६ रुपियाँ चालु र ६० करोड ११ लाख ३० हजार ५०४ रुपियाँ पुँजीगत रहेको थियो।

त्यस्तै गत आवका लागि प्रदेशतर्फ चालु बजेट ४२ करोड ९७ लाख ५१ हजार १०८ रुपियाँ र पुँजीगत बजेट २० करोड ९० लाख दुई हजार रुपियाँ बजेट यस जिल्लाका लागि विनियोजन भएको थियो। यता स्थानीय तहहरूको पूर्ण खर्च विवरण आइनसकेकाले हालको प्रारम्भिक तथ्याङ्कमा केही तलमाथि हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका सह–लेखापाल नवीन खनालले बताउनुभयो।

खनालका अनुसार स्थानीय तहलाई निकासा भएको बजेटमा रकम खर्चको प्रारम्भिक तथ्याङ्कभन्दा खर्चको अवस्था घटेर आउन सक्ने छ। साउन १५ पछि मात्र यकिन बजेट खर्च वा कारोबार विवरण आउने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।