• १२ मंसिर २०८१, बुधबार

मनाङीको आयआर्जनको मुख्य स्रोत 'यार्सागुम्बा'

blog

यदुप्रसाद भट्ट

मनाङ, असार ३१ गते । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा मनाङीको आयआर्जनको प्रमुख स्रोत बनेको छ । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ।

यार्सागुम्बामा औषधिजन्य गुण अन्तर्निहित हुने हुँदा यसको प्रयोग शक्तिवर्द्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधी बनाउन प्रयोग हुने बताइन्छ । 

यार्सागुम्बाको माग विश्वका अधिकांश देशबाट हुने गरेपनि मुख्य बजार भने चीन हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा एक केजी यार्सागुम्बा लाखौँ मूल्यमा बिक्री हुने गर्दछ। अधिक मागका कारण केही वर्षयता यसको सङ्कलन एवम् बिक्री वितरण कार्यमा उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा आकर्षित भएका छन् ।

पिसाङका रामबहादुर गुरुङ वैशाख १५ पछिका धेरै दिन लेकमै बिताउने गरेको बताउनुहुन्छ । उहाँले दुई महिनाभन्दा बढी समय यार्सागुम्बा सङ्कलनमै बिताउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "प्रति गोटा ५ सय रुपियाँमा माग भएको छ ।" विशेषगरी काठमाडौँबाट धेरै माग आउने गरेको उहाँले बताउनुभयो ।

प्रायजसो मनाङीहरु सिजनका बेला गाउँ नै रित्तो पारेर यार्सा सङ्कलनका लागि लेकतिर लाग्छन् । यार्सा नै मनाङीको प्रमुख आयस्रोतको बाटो बन्दै गएको छ ।

नेपालमा वार्षिक न्यूनतम ३ हजार केजी यार्सागुम्बा सङ्कलन हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । ठुलो कारोबारको क्षेत्र बन्दै यार्सागुम्बा नेपालका मनाङ लगायत २५ जिल्लामा सङ्कलन भएपनि यसको व्यावसायिक सङ्कलन डोल्पा, दार्चुला, अछाम, मनाङ, रुकुम, बझाङ, हुम्ला लगायत १२ जिल्लाबाट हुने गरेको पाइन्छ । 

खासगरी यार्सागुम्बा सङ्कलन गर्नका लागि संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन कार्यालयबाट अनुमति लिनुपर्छ । प्रतिकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्लाबाहिर यार्सागुम्बा निकासी हुने गरेको छ । 

यार्सागुम्बा टिप्न जानुभन्दा पहिला सबैले कुलदेवता तथा प्राकृतिकलाई पूजा गरेर मात्र जानुपर्ने चलन छ । त्यस्तै महिलाहरू महिनावारी हुँदा यार्सा टिप्दैनन् । यार्सागुम्बा सङ्कलनको बेलामा गाउँ नै रित्तिने गरी मानिस लेकतिर लागेका हुन्छन् । स–साना बालबालिका पनि आमाबाबुसँगै लगिएका हुन्छन् । बालबालिकाको आँखा तेजिलो हुने हुँदा छिटो यार्सागुम्बा चिन्न र टिप्न सक्छन् भनेर यार्सा सङ्कलनमा उनीहरूलाई लैजाने गरिएको स्थानीयले बताएका छन् । घरमा बूढाबूढी र गाईबस्तु मात्रै हुन्छन् । 

यार्सा टिप्ने ठाउँमा प्रत्येक वर्ष आ–आफ्नो क्षेत्र स्थान छुट्याएको हुन्छ । कसैले पनि अर्काको स्थानमा पस्न पाउँदैन । आफ्नो पुरानै स्थानमा गएर पाल राखेर समूहमा बस्ने गर्छन् । यार्सागुम्बा भएको ठाउँमा बोटबिरुवा हुँदैन । बादल लाग्नेबित्तिकै हिउँ पर्न थाल्छ कतिपय ठाउँमा हिउँ पन्छाउँदै बसेर कुटोले खनेर टिप्नुपर्ने हुँदा कतिपयलाई लेक लाग्ने वा अन्य बिरामी पर्ने सम्भावना पनि रहन्छ । उनीहरूले लेक लाग्नबाट जोगिनका लागि घरेलु औषधीका रूपमा टिमुर, मह, प्याज, लसुन आदिको प्रयोग गर्छन् ।

यार्सागुम्बाको बढ्दो सङ्कलनसँगै हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्ति सुरक्षा, सामाजिक विकृतिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । कतिपय ठाउँमा विद्यालयका विद्यार्थीहरू शिक्षक कर्मचारी उल्लेख्य सङ्ख्यामा यार्साको सङ्कलनमा जाने गर्दा जेठदेखि असारसम्म विद्यालय नै बन्द हुने गरेको पाइन्छ । समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो । 

हिमाली तथा पहाडी भेगको बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन गरी बिक्री वितरण गर्दा जनताको आर्थिक स्थिति, पर्यटन, होटल, बैङ्क तथा वित्तीय संस्था लगायत आयआर्जन तथा रोजगारका अवसरमा वृद्धि भएको पाइन्छ । हिमाली क्षेत्रका अधिकांश परिवारको वर्षभरिको जीविकोपार्जनका लागि यार्सागुम्बा लगायत बहुमूल्य जडीबुटी नै मुख्य आम्दानीको स्रोत रहेको छ ।