• १२ साउन २०८१, शनिबार

इङ्ग्ल्यान्ड र स्पेनबिच बराबरीको टक्कर

blog

काठमाडौँ, असार ३० गते । इङ्ग्ल्यान्डको फुटबल टिम ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने दाउमा छ । इङ्ग्ल्यान्डले आइतबार राति स्पेनविरुद्ध युरो च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त गर्दै छ । स्पेन भने कीर्तिमान चौथो पटक युरो च्याम्पियन बन्ने सपना देख्दैछ । स्पेनले सन् २०१२ पछि भने उपाधि जित्न सकेको छैन । सो समय स्पेनले सन् २००८ र २०१२ मा युरो र सन् २०१० मा विश्वकप जितेर लगातार तीन प्रमुख उपाधिको कीर्तिमान राखेको थियो ।

इङ्ग्ल्यान्ड लगातार दोस्रो पटक युरोको उपाधि भिडन्त गर्दै छ । पछिल्लो सस्करणमा घरेलु मैदानमा फाइनल खेल्दा इङ्ग्ल्यान्ड टाइबे्रकरमा इटालीसँग निराश बनेको थियो । सन् १९६६ मा विश्वकपको उपाधि जित्दा पनि इङ्ग्ल्यान्डले घरमै खेलेको थियो । जुन इङ्ग्ल्यान्डको एक मात्र प्रमुख फुटबल प्रतियोगिताको उपाधिका रूपमा रहेको छ । त्यसैले इङ्ग्ल्यान्डले पहिलो पटक घरबाहिर प्रमुख प्रतियोगिताको उपाधि भिडन्त गर्दै छ ।

इङ्ग्ल्यान्डलाई लामो समयदेखि परेको उपाधिको खडेरी टार्न सहज भने हुने छैन । स्पेन यस प्रतियोगिताको सबभन्दा उत्कृष्ट टिम हो भन्दा फरक पर्दैन । स्पेनले फाइनल पुग्ने  क्रममा सबै खेल जितेको छ । इङ्ग्ल्यान्डलाई हराएर उपाधि जितेमा स्पेनले शतप्रतिशत जितका साथ युरो च्याम्पियनको कीर्तिमान बनाउने छ । स्पेनले अहिले नै उपाधि भिडन्तमा पुग्ने  क्रममा उपाधि रक्षा अभियानको रहेको इटाली, आयोजक जर्मनी र उपाधि दावेदार फ्रान्स र विश्वकपमा तेस्रो स्थान हासिल गर्ने  क्रोसियालाई बिदा गरिसकेको छ । इङ्ग्ल्यान्डको फाइनल यात्रा भने सङ्घर्षपूर्ण रह्यो । इङ्ग्ल्यान्डको टिममा चमत्कार गर्न सक्ने खेलाडीहरू छन् । इङ्ग्ल्यान्ड स्टार खेलाडीहरूको बाहुल्य रहेको टिम पनि हो । त्यसैले आइतबार दुवैको सम्भावना बराबर मानिएको छ ।

कप्तान हेरी केनसमक्ष लामो समयदेखि प्रमुख प्रतियोगिता जित्न नसकेको इङ्ग्ल्यान्डको पिडामा मल्हम लगाउने ठुलो अवसर छ । केन अहिले जर्मनीमै व्यावसायिक फुटबल खेल्नुहुन्छ । बायर्न म्युनिखका स्ट्राइकरले यस सत्रमा आफ्नो क्लबका लागि ४५ बलमा ४४ गोल गर्नुभएको छ । सो शानदार लय उहाँले युरोमा भने देखाउन सक्नुभएको छैन । यद्यपि उहाँ तीन गोलसहित चालु प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट अवार्डमा अग्रपङ्क्तिमा हुनुहुन्छ । स्पेनका फरवार्ड डेनी ओल्मोले पनि तीन गोल गर्नुभएको छ । ओल्मोको नाममा दुई एसिस्ट पनि रहेको छ । नेदरल्यान्ड्सका कोडी गाप्को, जर्जियाका जर्जेज मिखाउटाजे, जर्मनीका जमाल मुसियला र स्लोभाकियाका इभान स्रान्जले पनि तीन तीन गोल गर्नुभएको छ । यद्यपि यी सबै खेलाडीको चुनौती चालु प्रतियोगितामा समाप्त भइसकेको छ ।

स्पेन अहिले विङ्गबाट खेल्ने दुई युवा खेलाडी लामिने यमाल र निको विलियम्सका कारण हेर्नलायक टिमका रूपमा रहेको छ । शनिबार १७ वर्ष पुगेका यमाल र अर्का युवा खेलाडी विलियम्सको प्रेरणामा रहने स्पेनको आ क्रमण झेल्न विपक्षी टिमलाई हम्मे हम्मे परिरहेको छ । यी दुईले मैदानको दुवै भागको विङ्गबाट गर्ने आव्रmमण स्पेनको प्रमुख हतियार हो । यमालले यस प्रतियोगिताबाटै सुपरस्टारको छवि बनाइसक्नुभएको छ । यमाल र विलियम्सलाई चुनौती दिन इङ्ग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले ल्युक सालाई बाँया र बुकायो साकालाई दाँया भागमा प्रयोग गर्ने सम्भावना रहेको छ । आर्सनलका विङ्गर साकालाई रोक्ने जिम्मा प्रमुख रूपमा स्पेनका डिफेन्डर मार्क कुकुरेलाको हुने छ । कुकुरेला चालु प्रतियोगिताका स्पेनका प्रमुख डिफेन्डरका रूपमा प्रस्तुत हुनुभएको छ ।

यसै गरी इङ्ग्ल्यान्डका युड बेलिङ्घम यसपालि बालन डी ओर अवार्डको प्रमुख दाबेदार हुनुहुन्छ । इङ्ग्ल्यान्डले आइतबार उपाधि जितेमा वर्षका सर्वश्रेष्ठ फुटबललाई दिइने प्रतिष्ठित बालन डी ओर अवार्ड बेलिङ्घमले जित्ने पक्का हुने छ भन्दा फरक पर्दैन । बेलिङ्घमले यस सत्रमा रियल म्याड्रिडलाई स्पेनी लिग र च्याम्पियन्स लिग जिताउन महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । इङ्ग्ल्यान्डका समर्थक बेलिङ्घमले स्लोभाकियाविरुद्ध ९५ औँ मिनेटमा ओभरहेड किकमार्फत गरेको गोल जस्तै फाइनलमा अर्को चामत्कारी क्षण दिने आशामा छन् ।