• १६ भदौ २०८१, आइतबार

घोराहीमा भानु जयन्ती मनाइयो

blog

घोराही उपमहानगरपालिका–१५ स्थित आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्ण गर्दै साहित्यकार । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, असार २९ गते। दाङमा साहित्यकारले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरेर २११ औँ जयन्ती मनाएका छन्।नेपाली साहित्य, भाषामा खेल्नुभएको भूमिका स्मरण गर्दै घोराही उपमहानगरपालिका-१५ भानु चोकमा रहेको आदिकवि आचार्यले तस्बिरमा टीका, माला अर्पण गरेर मनाएका हुन् ।

साहित्यकार शनिबार भानु चोकमा भेला भएर उहाँको जीवनी र योगदानको सम्झना गर्नुभएको हो।राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मालगायतले भानुभक्तको नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन ऐतिहासिक योगदान चर्चा गर्नुभएको थियो।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएको उहाँहरूको भनाइ थियो।त्यस अवसरमा साहित्यकार महेशकुमार न्यौपाने, सुरेश कुमार पाण्डे र जीवी चिन्तनलगायतले भानुभक्त आचार्यको सम्झनामा कविता वाचन गर्नुभएको थियो।

विक्रम संवत् १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति रहेका छन्।