• १० मंसिर २०८१, सोमबार

समाज बोल्ने तस्बिर

blog

गोरखापत्रले हालै प्रदर्शनीमा राखेका ऐतिहासिक तस्बिरहरू हेर्न जाने प्रायः नेताका तस्बिरहरूमा झुम्मिएका देखिन्थे । अचेल दिनदिनै मिडियामा देखिने नेताहरूको ऊ बेलाको मुहार अहिलेको आकर्षण थियो । सत्तामा रमाउन थालेपछि नेताहरूको खानपान, रहनसहन फेरिएको छ । मुहारमा चमक छ, पहिरन धेरै फरक छ । दर्शकहरू नेताका पुराना तस्बिर देखेर बडो रमाइलो मान्दै थिए । 

त्यसै गरी राजा वीरेन्द्रका पुराना तस्बिरमा पनि थियो अधिकांशको चासो । राजा वीरेन्द्रको शुभराज्याभिषेकका समयको तस्बिर, महारानी एलिजावेथ द्वितीया नेपाल आएका बेला राजा वीरेन्द्रले वसन्तपुर घुमाएको, गणेशमान सिंह विसं २०४८ को आमनिर्वाचनमा मतदान गर्न लामबद्ध भएको धेरैले नियालेको देखेँ । त्यसपछिको रमाइलो थियो, उहिलेको काठमाडौँ र जीवन शैली । ऊ बेला कोटेश्वरमा धान रोपाइँ गर्दै गरेको तस्बिर अपत्यारिलो लागिरहेको थियो । हुन पनि अहिले त्यो कोटेश्वर कहाँनेर पर्ला भनेर अनुमान लगाउनै हम्मे पर्छ । त्यस समयको काठमाडौँको ट्राफिक प्रहरीको पोसाक एउटा अर्को इतिहास छ तस्बिरमा । नेपालीहरूका केही दशक मात्र अघिको रहनसहन, पोसाक, जीवनशैली, खानपान आश्चर्यलाग्दो देखिन्छ ।

मेरा आँखा भने एउटा काठेपुलमा गएर अड्किए । तस्बिरको क्याप्सन छ, ‘जापान सरकारले पक्की पुल निर्माण गर्नुअघि अनामनगरबाट नयाँ बानेश्वरको थापागाउँ जोड्ने जीर्ण काठे पुल ।’ बडो ऐतिहासिक कहानी रहेछ त्यो तस्बिरको । पहिले बनेपाबाट एक जना थापा परेड खेल्न बिहानै टुँडिखेल आउने गर्थे रे । उनी सधैँ बनेपाबाट बिहानै ३ बजे घोडा चढ्ने । टाउकामा साफा बाँध्ने उनको बानी रहेछ । एक दिन साफाको सट्टा श्रीमतीको सारी परेछ । अँध्यारोमै हिँडे, देखेन छन् । टुँडिखेलमा एक जना राणा जर्साबले सोधे, ‘के हो थापा यस्तो ?’ थापाजीले बिन्ती बिसाएछन्– महाराज म बिहान ३ बजे बनेपाबाट हिँड्छु । साफा बाँधेँ भनेको सारी परेछ । ती जर्साबले उनलाई थापागाउँमा नै जमिन दिलाएर बस्ने व्यवस्था मिलाएछन् । पछि उनी यहीँबाट बिहान टुँडिखेल आउन थाले । एकदिन उनी नआएको देखेपछि भोलिपल्ट ती जर्साबले फेरि सोधे हिजो किन नआएको भनेर । थापाकाजीले ठुलो पानी परेर धोबी खोला बढेपछि आफू आउन नसकेको बिन्ती बिसाए । ती जर्साबले थापाले ढाँटेको हो या साँच्चै हो बुझ्न पठाएछन् । कुरो साँचो रहेछ । खोला बढेर स्थानीयलाई वारपार गर्न पनि गाह्रो पर्ने गरेको रहेछ । त्यसपछि उनैको आदेशबाट काठे पुल हाल्न लगाइदिएका रहेछन् । अहिले थापागाउँ भनिने गरेको यो स्थानको यस्तो इतिहास रहेको प्रसङ्ग श्रीहरि अर्यालको ‘बानेश्वरको सेरोफेरो’ पुस्तकमा उल्लेख रहेको तस्बिर प्रदर्शनीमा पुगेकाहरूलाई उहाँ सुनाउँदै हुनुहुन्थ्यो ।

एउटै तस्बिरभित्र इतिहास र समाज यसरी भेटिन्छ । नेपालमा शासक प्रशासकहरूले कसरी जनताका दुःख देख्ने रहेछन् भन्ने तथ्य पनि यसबाट बुझ्न सकिन्छ । लाग्छ, अरूतिरका पुलहरूको पनि त यस्ता कैयौँ इतिहास होलान् । जस्तो कि पोखराको केआइसिंह पुलको नाम किन राखिएको भन्ने सप्रसङ्ग पनि रोचक नै छ । त्यसैले तस्बिरले समाज बोल्छ भनिएको हो । 

विसं २०६० चैतमा तत्कालीन माओवादी विद्रोहीले म्याग्दीको बेनीमा आक्रमण गरेका थिए । त्यसको भोलिपल्ट समाचार रिपोर्टिङका लागि म पनि पुगेको थिएँ । बेनी क्षतविक्षत थियो । सयभन्दा बढी शव सडकमै छरपस्ट थिए । गोठमै गाई जलेका थिए, होटलमा बास बसेका मानिस सुतेकै ठाउँमा जलेर मरेका थिए । सबै तथ्य सङ्कलन गरेँ र काठमाडौँ फर्किएपछि एउटा ‘स्टोरी’ तयार पारेँ । ‘बेनीको बजार, जता माया उतै छ नजर...’ भन्ने गीतबाट ‘स्टोरी’ सुरु गरेँ र लगत्तै यो गीत जस्तो छैन, अहिले बेनी बजार भनेर त्यसको निष्कर्ष निकालेँ । त्यहाँको क्षति र विध्वंसको व्याख्या मानवीयतासँग जोडेर गरेको थिएँ । प्रायः दैनिक पत्रिकाका शनिबारे संस्करणमा स्टोरी लेख्ने गर्दथेँ र यस पटक स्पेस टाइम पत्रिकालाई दिएँ । मेल थिएन, हातैले लेखेर लगिदिने गर्थेँ पत्रिकामा । शनिबारको अङ्कका फिचर एडिटर जीवराम भण्डारीलाई दिएँ । उहाँले म त्यहीँ छँदै स्टोरी पढ्नुभयो र आगामी अङ्कमै छाप्ने कुरा त गर्नुभयो तर तस्बिर खोज्नुभयो । त्यस समय न मसँग क्यामेरा थियो र न त राससबाट नेपाली तस्बिरहरू नै सम्प्रेषण गर्ने चलन । मसँग तस्बिर भइदिएको भए मैले लेखेका हजार शब्दभन्दा बढी तस्बिरले बोल्ने उहाँले बताउनुभयो ।

त्यही घटनापछि मैले एउटा सस्तो खाले क्यामेरा किनेँ । बबरमहल डेराबाट रासस कार्यालय जाँदै थिएँ, स्वास्थ्य मन्त्रालयको गेटैमा राखिएको ‘धुमपान निषेधित क्षेत्र’ को बोर्डको मुन्तिर केही मानिस उभिएर बोर्डलाई नै धुवाँको मुस्लोले छोप्ने गरी चुरोट पिइरहेका थिए । सरकारले त्यति नै बेला ल्याएको सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुनको निकै प्रचार पनि भएको थियो । त्यसैले त्यो कानुन ल्याउने र त्यसको कार्यान्वयन गराउने निकाय स्वास्थ्य मन्त्रालयकै गेटको यो तस्बिरको सान्दर्भिकता देखेरै तस्बिर खिचेर लगेँ तर राससबाट नेपालका तस्बिर सम्प्रेषण गर्ने चलन छैन भनेर दिइएन । बत्तीमुनि अँध्यारो किकर राखेर त्यो तस्बिर क्याप्सनसहित राख्न पाएको भए, त्यसले एक हजारभन्दा बढी नै शब्द बोल्थ्यो भन्ने पनि मलाई थाहा थियो । 

माथिका यी दुई दृष्टान्त शब्दभन्दा तस्बिरले बढी बोल्ने घटनाका हुन् । तस्बिरको यो प्रभावकारिता अहिले झन् बढ्दै छ । रेडियोबाहेकका सबै सञ्चार माध्यम प्रयोग गर्न सकिने फोटो पत्रकारिता अहिले झन् झन् लोकप्रिय बनेको छ । तस्बिरले झुठ बोल्दैन र विषयवस्तुको सजीव चित्रण गर्छ । शब्दभन्दा फोटोको प्रभाव बढी हुन्छ । शब्दले भावना बोल्छन् तर त्यो भावनाको सजीव प्रस्तुति तस्बिरले गर्न सक्छ ।

गोरखापत्र र राससले महिना दिनदेखि यस्तै ऐतिहासिक महìवका र सन्देशमूलक तस्बिरहरूको प्रदर्शनी ग¥यो । ती तस्बिरमा माथि भनिए जस्तै मानिसहरूले आफ्नो देश, परिवेश, समाज, इतिहास र भूगोल पाउन सक्छन् । पत्रकारिताका विद्यार्थी र अध्येताका लागि त यो अझ बढी उपयोगी छ । आफ्ना तस्बिरप्रतिका बुझाइ र प्रयोगमा थप निखार ल्याउन प्रदर्शनीले उनीहरूलाई सघाउँछ । गोरखापत्रले विसं २०३० देखि २०६० सम्म एनालग क्यामेराले खिचेका तस्बिरहरू प्रदर्शनीमा राखेको थियो । ती तस्बिरबाट नेपाली समाज र परिवेश बुझ्न मात्र नभई नेपाली पत्रकारिताको इतिहास बुझ्न पनि धेरै सहयोग पुग्छ । विसं २०४६ को जनआन्दोलनको वरपर भारतले नेपालमा नाकाबन्दी लगाएपछि बङ्गलादेशबाट जहाजमा ल्याइएको इन्धन विमानस्थलमा खन्याउँदै गरेको गोरखापत्रको एउटा तस्बिरले पञ्चायत काल र प्रजातन्त्रको पुनर्स्थापनाको समयबारे जान्न सकिने मात्र नभएर दुई देशको परराष्ट्र नीति, हाम्रा भौगोलिक बाध्यता र जटिलता एवं समग्र नेपालको इतिहासलाई जान्न सहयोग पुर्‍याउँछ । गोरखापत्रको पहिलो तस्बिरको क्याप्सन पढ्दा नेपाली पत्रकारिताले सामग्रीमा उहिल्यैदेखि कति विवेक पुर्याउँदोरहेछ भन्नेबारे जानकारी दिन्छ । 

पुराना तस्बिरहरू दुर्लभ हुँदै जाँदा तिनको महìव बढ्दै गएको तथा विसं २०३० देखि २०६० सम्मका एनालग क्यामेराले खिचेका तस्बिरका नेगेटिभ अब धेरै समय अहिलेकै गुणस्तरमा राख्न सकिने अवस्था नरहन पनि सक्ने भएकाले यिनको संरक्षणका लागि ती नेगेटिभबाट तस्बिर निकालेर प्रदर्शनी गरिएको गोरखापत्रले जनाएको छ । टेलिफोनबाट तस्बिर पठाउने, नेगेटिभबाट धुलाएर तस्बिर निकाल्ने प्रविधि अहिले देशमा नरहेकाले त्यो प्रविधि पत्रकारिताका अनुसन्धानदातालाई काम लाग्न सक्छ । 

राससले पनि गणतन्त्र दिवसको अवसर पारेर गरेको प्रदर्शनीका तस्बिरले नेपालमा गणतन्त्र आयो तर केही विकास भएन भन्ने गरिएको एक अवस्थालाई केही हदसम्म चिर्ने प्रयत्न गरेको छ । त्यहाँ राखिएका अधिकांश तस्बिर पूर्वाधार निर्माणका छन् र ती निर्माण प्रक्रियाले देश विकासमा भएका केही प्रयत्नलाई झल्काएको छ । जस्तो कि ५२ सय मिटर उचाइमा बनेको ताप्लेजुङको टिप्ताला नाका पुग्ने बाटोलाई नेपालमा सडक यातायातको उपलब्धिका रूपमा लिन नसकिएला र ? यत्तिकै उचाइमा रहेको मानसरोबर क्षेत्रमा निर्माण गरिएको बाटोको जस्तै प्रचार हामीले पनि किन नगर्ने ? बागलुङका झोलुङ्गे पुलहरू हुन् या भूकम्पपछिको रानीपोखरीको पुनर्निर्माण, सिस्ने काठमाडौँको सुरुङ मार्ग छिचोलिएको होस् या काठमाडौँ–निजगढ फास्ट ट्र्याक होस् अथवा हुलाकी मार्गको पछिल्लो प्रगति होस् । सोलुखुम्बुको नाम्चेमा निर्माण भएको नेपाल टेलिकमको ‘फोरजी टावर’ को तस्बिरले के नेपालमा भएको सञ्चारको क्रान्तिबारे केही बोल्दैन र ? 

अहिलेका मानिस अक्षर पढ्न छोडिसके । केही मिनेट अक्षर पढेर सूचना ग्रहण गर्नुभन्दा उनीहरू एक मिनेटको भिडियोबाट जानकारी हासिल गर्न चाहन्छन् । भोलिका दिनमा त लाग्दै छ, त्यही भिडियो हेर्न पनि अब उनीहरूलाई फुर्सद नहुन सक्छ । नेपालमा पठन संस्कृति (रिडिङ कल्चर) मा ह्रासोन्मुख छ । मानिसहरू सतही, बेफुर्सदी हुँदै छन् । कहिलेकाहीँ बढीमा दुई मिनेटको भिडियो हुन्छ, त्यसको माथि नै ‘कृपया पूरै भिडियो हेर्नुहोला’ भन्ने सूचना पनि हुन्छ । यसको अर्थ अहिलेको मानिसलाई एक मिनेट पनि फुर्सद छैन भन्ने हो । यस्तो धीरतालाई अखबारमा छापिने हजार÷दुई हजार शब्दका लेख आलेख पढ्न फुर्सद होला त ? नहुन सक्छ । त्यसैले लाग्दै छ, अबको पत्रकारिता शब्दचित्रको वर्णनमा जाला । यसलाई ‘पिक्टोरियल प्रेजेन्टेसन’ पनि भन्न सकिएला । यस कारण नेपाली पत्रकारितामा तस्बिरको महìव झन् बढ्न सक्छ । 

Author

एकराज पाठक