• १२ साउन २०८१, शनिबार

तीन तहका सरकारको समन्वय आवश्यक

blog

बिरुवा गाउँपालिका सदरमुकाम स्याङ्जा बजारबाट दक्षिणपूर्वमा पर्दछ । साबिकका बिरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडा तथा पेल्काचौर, राङभाङ, चिन्नेबास तथा किचनास गाविसका केही वडा गाभेर यो गाउँपालिका बनाइएको हो । सिद्धार्थ राजमार्गको पुतलीबजार–राङखोलाबाट करिब १७ किलोमिटरको दुरी पार गरेपछि यहाँ सहजै पुग्न सकिन्छ । पालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, पश्चिममा भिरकोट नगरपालिका र वालिङ नगरपालिका, उत्तरमा पुतलीबजार नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका र हरिनास गाउँपालिका पर्छन् । यस गाउँपालिकामा २०७९ मा भएको निर्वाचनबाट सूर्यबहादुर कुँवर अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँले लामो समय शैक्षिक क्षेत्रमा योगदान गर्नुभएको थियो । अध्यक्ष कुँवरसँग गोरखापत्रका पत्रकार राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी : 


तपाईं निर्वाचित भएपछि महत्त्वपूर्ण के के काम भए ?

यो दुई वर्षको अवधिमा आर्थिक, सामाजिक र भौतिक क्षेत्रमा विशेष ध्यान दिएका छौँ । सडकको वर्गीकरण गरी स्तरोन्नति गरेका छौँ । ‘एक स्वास्थ्य चौकी एक स्वास्थ्य प्रयोगशाला’ सञ्चालन गरेका छौँ । सबै विद्यालयमा नमुना बालविकास केन्द्र सञ्चालन गर्ने उद्देश्यले हालसम्म पालिकाबाट १५ र प्रदेश सरकारको सहयोगमा छ गरी २१ वटा विद्यालयमा नमुना बालविकास केन्द्र सञ्चालन गरेका छौँ । ‘एक गाउँ एक पशु प्राविधिक कार्यक्रम’ अन्तर्गत प्रत्येक वडामा पशु प्राविधिकको व्यवस्था गरेका छौँ । अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी १२ कक्षासम्मको शैक्षिक दायित्व वहन पालिकाले गरेको छ । खरको छानो विस्थापन कार्यक्रम सञ्चालन गरेका छौँ । 

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पनि प्रगति भएको छ ? 

शिक्षकको विषयगत क्षमता विकास तालिम, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई नेतृत्व विकास तालिम, खेलकुद शिक्षकलाई साङ्गीतिक पिटी तालिम सञ्चालन गरी कार्यान्वयन गरिएको छ । रुम टु रिडको प्राविधिक सहयोग र पालिकाको साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । प्राविधिक शिक्षा अन्तर्गत नवज्योति मावि बिरुवा–१ मा कक्षा ९–१२ सम्म कम्प्युटर शिक्षा र भुरुङचौकी मावि बिरुवा–८ मा प्रिडिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा निःशुल्क अध्यापन गरिएको छ । 

‘एक स्वास्थ्य चौकी एक स्वास्थ्य परीक्षण प्रयोगशाला’ कार्यक्रम अन्तर्गत छ वटा स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गरिएको छ । विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत तीन/तीन महिनामा विद्यार्थीको स्वास्थ्य परीक्षण गरिन्छ । सुनौलो हजार दिनका आमालाई पोसिलो झोला वितरण गरिएको छ । दुई वटा मात्रै बर्थिङ सेन्टर भएकोमा तीन वटा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी पूरा भएको छ । राङभाङ स्वास्थ्य चौकी निर्माण भइरहेको छ । 

बिरुवाको सदरमुकाम र सिद्धार्थ राजमार्ग जोड्ने राङखोला–बिरुवा सडक अन्तर्गत राङखोला–धोवादी खण्ड ६.२ किमी स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेको छ । पालिका केन्द्रदेखि वडा केन्द्र र अन्तरपालिका जोड्ने सडक विस्तार, पक्की नाला, ग्राभेलसहित स्तरोन्नति भइरहेको छ । ज्याग्दीखोला–गैरीघाट र बास्ताराखोला–राक्सेघाटमा सडक पुल बन्दै छन् । ओतर्के खोला, लाटापिपल खोला र गोपालेखोलामा साना कल्भर्ट पुल निर्माण यो आर्थिक वर्षमा सम्पन्न हुँदै छन् । ज्याग्दीखोला, बास्ताराखोला र म्याङखोलामा आवश्यक ठाउँमा तटबन्धन गरिएको छ । 

कृषि र पर्यटनको अवस्था कस्तो छ ?

पालिकाका वडा नं. १ र ६ लाई अन्नबाली तथा तरकारी उत्पादन क्षेत्रका रूपमा प्रवर्धन गरेका छौँ । वडा नं. ७ र ८ लाई सुन्तला पकेट क्षेत्र, वडा नं. २ र ३ लाई अदुवा पकेट क्षेत्र वडा नं. ४ र ५ मौरीपालन क्षेत्रका रूपमा प्रवर्धन गरेका छौँ । चालु आर्थिक वर्षमा करिब आठ करोड बराबरको सुन्तला निर्यात भएको छ । बाख्रापालन कार्यक्रमलाई जोड दिइएको छ । रैथाने बाली प्रवर्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ । ‘पहाडी जिल्ला काष्ठफल तथा फलफूल विकास परियोजना’ यही वर्षबाट लागु हुँदै छ । पशुमा कृत्रिम गर्भाधान कार्यक्रम सुरु गरिएको छ । 

यहाँका पर्यटकीय स्थल राङभाङको रहस्यमय गुफा, मनकामना मन्दिर, भासीपोखरी पार्क, कुमेरदुङ पार्क, सिद्धथान पार्क, पुष्पमदन रङ्गशाला निर्माण र प्रवर्धन गर्ने कार्य भइरहेको छ । मनकामना मन्दिरमा वार्षिक २५ हजारभन्दा बढी भक्तजन आउने गर्दछन् । यहाँ दुई वटा सामुदायिक घरबास सञ्चालनमा छन् ।  

सङ्घीय र प्रदेश सरकारसँग समन्वय भइरहेको छ ? 

सङ्घीय सरकार र प्रदेश सरकारको व्रिmयाकलापले सङ्घीयताप्रति नै प्रश्नचिह्न खडा भएको छ । हाम्रो सिफारिसमा सङ्घ र प्रदेश सरकारले छनोट गर्ने विशेष र समपूरक योजना सञ्चालनमा छन् । सङ्घ र प्रदेश सरकारले छनोट गर्ने अन्य आयोजना स्थानीय तहका आवश्यकता हो वा होइन ? योजना कार्यान्वयन गर्न सकिने नसकिने र प्रतिफलको लेखाजोखा नगरी पहुँचका आधारमा पालिकासँग समन्वय नगरी योजना छनोट हुने गरेको छ जुन सङ्घीयताको मर्मविपरीत छ । 

काम गर्दा चुनौती अनुभव गर्नुभएको छ ? 

हाम्रो आवधिक योजनालाई सहयोग पुग्ने गरी सङ्घ र प्रदेशको कार्यक्रम आए सहज हुने थियो तर त्यस्तो देखिएको छैन । अनौपचारिक क्षेत्रका किसान र मजदुरलाई सामाजिक सुरक्षा कोष कार्यक्रममा आबद्ध गर्न सङ्घीय सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्झौता गरेका छौँ तर सङ्घीय सरकार र प्रदेश सरकारले अपनत्व लिन तयार भएका छैनन् । पालिकाले मात्रै व्ययभार थेग्न सबैभन्दा चुनौती देखिएको छ । सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान पूरा नआउनाले पुँजीगत क्षेत्रमा थप व्ययभार सिर्जना भएको छ ।  

पालिकाको समृद्धिका आधार पहिचान गर्नुभएको छ ? 

कृषि र ग्रामीण पर्यटन नै समृद्धिका आधार हुन् । आलु तथा तरकारी उत्पादन, रैथाने बाली प्रवर्धन, पशुपालन, मौरीपालन र फलफूल खेती विशेष हुन् । ‘भौगोलिक सांस्कृतिक विविधता, बिरुवावासीमा एकता’ हाम्रो पहिचान हो । कृषि र पशुपालनमा आत्मनिर्भर बन्दै थप रोजगारीको सिर्जना गर्न सक्ने सम्भावना छ । रैथाने बाली कोदो उत्पादन र बजारीकरण तथा सुन्तलाको पालिका भनेर चिनिने सम्भावना छ ।