• ११ मंसिर २०८२, बिहिबार

सडक मर्मतको माग गर्दै टेम्पु चालकद्वारा बाटो अवरुद्ध

blog

कलैया–गन्जभवानीपुरबिचमा पर्ने पसाहा खोलाको पुलमा टेम्पु तेर्साएर सडक अवरुद्ध पार्दै चालक । तस्बिर : शिवशङ्कर मिश्रा

शिवशङ्कर मिश्रा 
बारा, मङ्सिर ११ गते ।
कलैया–मलाही १६ किलोमिटर सडक खण्डको दयनीय अवस्थाका कारण बिहीबारदेखि नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन सङ्घले पूर्णरुपमा सडक बन्द गरी आन्दोलन सुरु गरेको छ । बिहान ८ बजेदेखि अनिश्चितकालीन रुपमा सडक बन्द गरिएको सङ्घले जनाएको छ ।

कलैया–गञ्ज भवानीपुरबिचमा पर्ने पसाहा खोलाको पुल नजिकै करिब डेढ सय टेम्पु चालकले आफ्ना सवारीसाधन सडकमै राखेर यातायात पूर्ण रुपमा अवरुद्ध गरेको सङ्घका अध्यक्ष सफिक अन्सारीले बताउनुभयो । सडकको जीर्ण अवस्था, खाल्डा–खुल्डीले यात्रा जोखिमपूर्ण बन्नु र महिनौंसम्म मर्मत नहुँदा चालक आक्रोशित बनेका हुन् ।

संघका सदस्यहरुले सडक एकनासको बनाउनुपर्ने, तत्काल कालोपत्र गर्नुपर्नेलगायतका  माग राखेका छन् । उनीहरुका अनुसार महिनामा झन्डै १० हजार रुपियाँ मात्र आम्दानी भए पनि बिग्रिएको सडकका कारण १५ हजार रुपियाँसम्म मर्मत–सम्भारमा खर्चिनुपरेको पूर्व अध्यक्ष वीरेन्द्र साह कानुले जानकारी दिनुभयो ।

यसअघि बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर तात्काल सडक मर्मतको माग गरे पनि कुनै प्रभावकारी कदम नचालिएको आरोप आन्दोलनरत टेम्पु चालकहरुले लगाएका छन् । प्रशासनले बेवास्ता गर्दा बाध्य भएर सडकमै उत्रिनुपरेको आन्दोलनरत एक चालकले बताउनुभयो ।

सडक बन्दपछि वैकल्पिक मार्ग नहुँदा स्थानीय बासिन्दा, विद्यार्थी तथा दैनिक यात्रुहरु समस्यामा परेका छन् । प्रशासनले भने आन्दोलनकर्तासँग छलफल गरी यथाशीघ्र सहमतिको प्रयास भइरहेको जनाएको छ ।

सडक अवरुद्ध भएपछि कलैया–गञ्ज भवानीपुर र आसपासका बासिन्दा गन्तव्यमा पुग्न नसक्दा समस्या बढेको छ । विद्यालय जाने विद्यार्थी, अस्पताल जानुपर्ने बिरामी तथा दैनिक कामकाजमा निर्भर स्थानीयहरु अत्यधिक प्रभावित भएका छन् ।

स्थानीय प्रहरी, इलाका प्रहरी र कलैयाबाट आएको ट्राफिक प्रहरीले टेम्पु चालकहरुसँग छलफल गर्न तयारी गरिरहे पनि आन्दोलनकर्ताहरु ‘मर्मतको ठोस आश्वासन नभएसम्म’ आन्दोलन जारी रहने अडान राखेको प्रहरी चौकी गन्जभवानीपुरका प्रहरी नायब वरिष्ठ निरीक्षक विनोद राना मगरले बताउनुभयो ।

सडक बन्दका कारण भीड बढ्न नदिन र विवाद रोक्न प्रहरी परिचालन गरिएको छ । वार्ता गरेर समाधान निकाल्ने प्रयास भइरहेको तथा सडक पूर्वाधारमा रहेकाले सो कार्यालयका प्रमुखसँग सम्पर्क गर्ने कार्यमा लागेको बताउनुभयो ।

आन्दोलन अनिश्चित, समाधान कहिले ?

सडक धेरै वर्षदेखि जीर्ण भए पनि स्थानीय तहको ध्यान नदिएको चालकहरुको आरोप छ । यस क्षेत्रबाट दुई–दुई पटक उपराष्ट्रपति रामसहाय यादव र हाल केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जितेर गएपछि एक पटक नआएको आरोप आन्दोलनकारीहरुको छ ।