• ११ मंसिर २०८२, बिहिबार

पहिचान र अधिकारको एजेण्डा बचाउन एकता आवश्यकता : जसपा सचिव साह

blog

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, मङ्सिर ११ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी पुनर्गठन र एकतालाई लिएर गरेको घोषणाले पार्टीभित्र नयाँ ऊर्जा र एकताको आवश्यकता झनै स्पष्ट भएको बताउनुभयो ।

बिहीबार एक धारणा सार्वजनिक गर्दै उहाँले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल पछिल्लो समय विभाजन, बहिर्गमन र आन्तरिक चलखेलका कारण कमजोर तरङ्गबाट गुज्रिए पनि देशमा पहिचान अधिकार, सङ्घीयता, समावेशीकरण र संविधान संशोधनजस्ता एजेन्डाहरू पुनः कमजोर बन्दै गएको वर्तमान अवस्थाले जसपाको भूमिका अझै महत्त्वपूर्ण बनेको बताउनुभयो ।

साहका अनुसार पार्टीको हालैको निर्णय विगतमा असन्तुष्टि वा परिस्थितिक कारणले टाढिएका नेता तथा कार्यकर्तालाई पुनः सङ्गठनमा फर्किन खुला आह्वान ऐतिहासिक तथा दूरदृष्टियुक्त कदम हो । उहाँले यसले पार्टी एकतालाई मजबुत बनाउँदै सङ्गठनलाई पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसर सिर्जना गरेको बताउनुभयो ।

साहले अनुभवी र जनतामुखी नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युवराज कार्कीलगायत पुनः एकताबद्ध भई जिम्मेवारीसहित पार्टीको मूलधारमा उभिन सकेमा जसपा फेरि एक बलियो र भरोसायोग्य राजनीतिक शक्ति बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार यी नेताहरूको राजनीतिक परिपक्वता र परिवर्तनप्रतिको प्रतिबद्धता एक ठाउँमा आएमा पहिचान अधिकारका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन, सङ्घीयता र समावेशीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा भ्रष्टाचार र अस्थिरताले कमजोर बनेको राजनीतिक वातावरणमा वैकल्पिक मार्गचित्र प्रस्तुत गर्न जसपा सक्षम हुनेछ ।

साहले वर्तमान राजनीतिक अन्योल, जनअसन्तुष्टि र वैकल्पिक शक्तिको खोजी तीव्र बनेको समयको उपयोग गर्दै जसपाले पुनः एकता, पुनः विश्वास र पुनः सङ्गठनका आधारमा अघि बढेमा देश परिवर्तनको अग्रपङ्क्तिमा उभिन सक्ने दाबी गर्नुभएको छ ।