• ११ मंसिर २०८२, बिहिबार

भीमफेदीमा मृत व्यक्ति फेला

blog

अनिल पराजुली

हेटौँडा, मङ्सिर ११ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –९ मनकामना डाँडास्थित देउराली सामुदायिक वनको बाघमारा क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

बुधवार दिउँसो बाघमारा बस्ने ४५ वर्षीय राजेश परियार मृत फेला परेको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार परियार आफ्नी श्रीमती बिन्दा परियारसँग घरदेखि उत्तरतर्फ रहेको सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो । 

उहाँ हर्रोको रुखको फेदमा अडेसो लगाई बसेको अवस्थामा ढल्नुभएको थियो । बाहिरी चोटपटक नदेखिएकाले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राजेशसँगै रहनुभएकी श्रीमती बिन्दा परियार बेहोस् अवस्थामा फेला पर्नुभएको छ । 

स्थानीयले उहाँलाई उद्धार गरी घर लगेका छन् । मृतकको मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब २७ किलोमिटर पश्चिमतर्फ पर्छ ।