• ३ साउन २०८१, बिहिबार

प्रबलीकरणमा ढिलाइ हुँदा कलाकृति अलपत्र

blog

काठमाडौँ, असार २७ गते । भूकम्पबाट क्षतिग्रस्त सीता भवनको प्रबलीकरण कार्य समयमै सम्पन्न नहुँदा बहुमूल्य कलाकृति अलपत्र अवस्थामा रहेका छन् । नेपाल बाल सङ्गठन र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सीता भवन आधा आधा प्रयोग गर्दै आएका छन् ।

सोही भवनमा वीरेन्द्र कला सङ्ग्रहालयमा सङ्गृहीत महत्वपूर्ण कलाकृति के कस्तो अवस्थामा छ भन्ने जानकारी प्रज्ञा–प्रतिष्ठानलाई समेत छैन । वीरेन्द्र कला सङ्ग्रहालयमा चन्द्रमानसिंह मास्के, सिद्धिमुनि शाक्य, अमर चित्रकार, तेजबहादुर चित्रकार, बालकृष्ण सम, लैनसिंह बाङ्देल, कर्णनरसिंह राणा, उत्तम नेपाली, रामानन्द जोशी, किरण मानन्धरलगायत कलाकारका दुई सयभन्दा बढी कलाकृति सङ्गृहीत थिए । ठेकेदार कम्पनीले समयमै भवन प्रबलीकरणको कार्य सम्पन्न नगर्दा सिलबन्दी रूपमा राखिएका कलाकृति खोल्न, सफा गर्न र सङ्ग्रहालयमा राख्न सकिएको छैन ।

सोही भवनका १२ वटा कोठालाई स्टुडियोका रूपमा विकास गरिएको थियो । त्यहाँ कलाकारले बसेर कला सिर्जना गर्थे । भवन प्रबलीकरणपछि भने स्टुडियो राख्न नदिने योजना प्रतिष्ठानको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ का अनुसार वीरेन्द्र कला सङ्ग्रहालयमा के कति कलाकृति थिए, त्यो थाहा छैन । सायद दुई सयभन्दा बढी नै होला । भूकम्पपछि भवन प्रबलीकरण गर्ने बेलामा जम्मा गरी सिलबन्दी गरेर राखिएका कलाकृति आफूले समेत हेर्न नपाएको सदस्यसचिव थुम्केलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन प्रबलीकरण भई हस्तान्तरण भएपछि मन्त्रालयसहित सम्बद्ध निकायको रोहबरमा सिलबन्द कलाकृति खोलिने छ । तीसहित थप कलाकृति सङ्ग्रहालयमा राखिने छ ।”

उहाँका अनुसार राष्ट्रिय ललितकला सङ्ग्रहालय स्थापनाको निर्णय भइसकेको छ । भवन हस्तान्तरणपछि वीरेन्द्र कला सङ्ग्रहालयका कलाकृतिसहित नेपाली कलाको बृहत् सङ्कलन र प्रदर्शन सोही भवनमा गरिने छ । सो सङ्ग्रहालयलाई नेपाली कलाको जीवन्त सङ्ग्रहका रूपमा विकास गरिने लक्ष्य रहेको सदस्यसचिव थुम्केलीले जानकारी दिनुभयो । 

पश्चिमा वास्तुकलाको नमुनामा रूपमा रहेको सीता भवनलाई नेपाली कला सङ्ग्रहालयका रूपमा विकास गरिनुपर्ने आवाज कलाकारबाट उठ्दै आएको छ । बाल सङ्गठनले उपयोग गर्दै आएको आधा भागसमेत लिएर सीता भवनलाई नेपाली कला सङ्ग्रहालय बनाउनुपर्ने आवाज कलाप्रेमीले उठाउँदै आएका छन् । विसं २०७२ को भूकम्पले नक्सालस्थित ‘सीता भवन’ भत्किएको थियो ।

श्री ३ भीमशमशेरले आफ्नी कान्छी महारानी सीतामाया तामाङका नाममा प्रेमपूर्वक बनाइदिएको भवनलाई सीता भवनका नामले चिनिन्छ । भूकम्पबाट ध्वस्त भवनको प्रबलीकरणका लागि २०७६ सालमा नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिएको थियो । २०७८ सम्ममा हस्तान्तरण गर्ने गरी सम्झौता गरिए पनि भवन निर्माण अझै पूरा भएको छैन । 

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेका अनुसार सम्झौता भएको तीन वर्ष नाघिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काम एकदमै कछुवाको गतिमा भइरहेको छ । भवनको पूर्वोत्तरतिरको भाग टेको लगाएर पहिला राखिएको जस्तै छ, खासै सुधार भएको देखिँदैन । बाहिर रङरोगन गरी चिटिक्क जस्तो देखाइए पनि भित्र खासै धेरै काम भएको छैन । 

सहरी विकास मन्त्रालय, भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीका अनुसार भवन प्रबलीकरणको काम बल्ल सकिएको छ । “काममा ढिलाइ भएको हो, त्यो हामीले स्विकार्नै पर्छ,” उहाँले भन्नुभयो, “प्लास्टर गर्ने काम भइरहेको छ । बुट्टा भर्ने काम पनि सुरु हुँदै छ । अहिलेको १३ औँ संशोधन अनुसार पुससम्ममा सबै काम सकेर हस्तान्तरण गर्ने योजना छ ।” उहाँका अनुसार भित्र र बाहिर देखिने सबै संरचना पुरानै किसिमका रहने छन्, नयाँ केही हुनै छैन ।

पुरानो जे थियो, त्यही हुन्छ । रङरोगनमा केही फरक हुन सक्छ । बाहिर र भित्र गरी ७० प्रतिशत काम सकिइसकेको छ ।