• ७ कात्तिक २०८१, बुधबार

पहिरोले अवरुद्ध हुम्लाका सडक अझै सञ्चालनमा आउन सकेन

blog

सलीसल्लाबाट चङ्खेली गाउँपालिका जाने गाडी सडक अवरुद्ध भएपछि दर्वी नजिक अलपत्र अवस्थामा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २६ गते । जिल्लाभित्र पर्ने कर्णाली कोरिडोर र आन्तरिक सडकमा यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन । लगातार वर्षा भएको कारण ठाउँठाउँको सडकमा गएको पहिरोले अवरुद्ध भएको कारण यातायात सेवा बन्द भएको हो ।

चार दिनदेखि अवरुद्ध हुँदै आएको हुम्ला जिल्लामा पर्ने कर्णाली कोरिडोर लगायतका आन्तरिक सडकहरू अझै खुल्न सकेका छैनन् । वर्षाको कारण सबैभन्दा पहिले सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाए पछि सडक अवरुद्ध हुन सुरु भएको थियो । 

प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका– ५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षति पुर्‍याएपछि यारी हिल्सा खण्डको सडक पनि बन्द भएको बताउनुभयो । त्यसैगरि च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भई रहने सिमकोट खार्पु खण्डको सडक पनि गत आइतबारदेखि बन्द रहेको उहाँले बताउनुभयो । यो खण्डमा पनि ठाउँठाउँमा पहिरो गएको कारण सडक बन्द भएको हो। 

त्यसैगरि सर्केगार्ड गाउँपालिका– ४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली कोरिडोरको सडक पनि बन्द भएको छ । कोरिडोरकै सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका– १ को खच्चामा पहिरो गएको कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । त्यसैगरि ताँजाकोट गाउँपालिकाको पुईँमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ ।  

प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द रहेको छ । कच्ची सडक र त्यस माथि चार दिन लगातार वर्षा भएको कारण सडक हिलाम्मे भएको छ ।

चंखेली गाउँपालिकामा पनि ठाउँठाउँमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण सडक जिल्लाभर अवरुद्ध भएपनि सडक मर्मत गर्ने पहल हुन सकेको छैन । कर्णाली कोरिडोरको हुम्ला खण्डमा सडक अवरुद्ध भएपनि यातायातका साधनहरू ठाउँठाउँमा अलपत्र अवस्थामा छन् ।