• ८ मंसिर २०८१, शनिबार

महामारीका कारण सिकाइमा क्षति

blog

प्रेमनारायण भुसाल

नयाँ वातावरण र परिवेशमा समायोजन हुन हरेक प्राणीले केही न केही कुरा सिकिरहेको हुन्छ । सिकाइलाई जीवनभर चलिरहने प्रक्रियाका रूपमा समेत अथ्र्याइने गर्दछ । जीवनलाई समृद्ध, सुखी र सफल बनाउनका लागि समयानुकूल सीपहरू सबैलाई नै आवश्यक पर्दछन् । आधुनिकीकरणसँगै सिर्जना भएका सामाजिक, आर्थिक र प्रविधिजन्य जटिलता र समस्याबाट पार पाउन मानिसले अनेकौँ प्रयास गरेको छ । जीवनलाई सहज बनाउने सीप अनौपचारिक र औपचारिक दुवै माध्यमबाट आर्जन गर्ने गरिन्छ । अनौपचारिक सिकाइबाट व्यक्तिले जीवनोपयोगी सीपका साथै मानवीय मूल्य, मान्यता र अन्तर्वैयक्तिक सीप सिक्ने गर्दछ । विद्यालय र विश्वविद्यालयमा आर्जन गरिने औपचारिक सिकाइले भने जीवनमा अँगालिने पेसा र व्यवसायमा दक्षता हासिल गर्न महìवपूर्ण सहयोग पु¥याउँछन् । 

विगत दुई वर्ष महामारीले गर्दा औपचारिक सिकाइमा ठूलो समस्या सिर्जना भयो । कोरोना महामारीका कारण संसारका सबैजसो मुलुकमा लामो समयसम्म विद्यालयहरू बन्द रहे । नेपाललगायतका केही मुलुकमा कक्षाकोठामा सिकेका कुरालाई मात्र सिकाइ मान्ने प्रवृत्ति देखिन्छ । यसैले विद्यालयमा औपचारिक पठनपाठन बन्द हुँदा सबैजसो सिकाइ प्रक्रिया रोकिने नै मानिन्छ । विकसित देशमा वैकल्पिक विधिबाट शैक्षिक क्षति न्यूनीकरण गरिएको भए पनि अविकसित र विकासोन्मुख देशमा विद्यालयबाहिर रहँदा विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक सीप सिकाउने दिशामा खासै ध्यान पु¥याउन सकेको देखिएन । पहिले नै सिकिसकेका सीप बिर्सेर र उमेरअनुसार सिक्नुपर्ने कुरा सिक्न नपाएका कारण अहिले विद्यार्थीको उपलब्धि कमजोर रहेको आकलन गरिएको छ । विभिन्न अध्ययनको निष्कर्षलाई हेर्दा औसतमा दुई वर्ष बराबरको सिकाइ क्षति भएको देखिन्छ । यस्तो क्षतिको दर सबै देशमा समान भने रहेको छैन । अविकसित मुलुकका वैकल्पिक शिक्षण सिकाइको पहुँचबाहिरका बालबालिकाले सापेक्षित रूपमा सिकाइ क्षति धेरै बेहोरेका छन् । 

गरिबीका कारण पोषक खाद्यपदार्थको अभावले सिर्जना भएका शारीरिक तथा मानसिक समस्या र अभिभावकको आम्दानी गुमेका कारण पारिवारिक अवस्थामा आएको विचलनको असरसमेत कलिला बालबालिकाको सिकाइमा देखा परेको छ । जसका कारणले गर्दा धेरै बालबालिका विद्यालय छोड्ने, स्तरअनुसारको उपलब्धि हासिल गर्न नसक्ने र मानसिक तनावको अनुभव गर्ने अवस्थामा पुगेका छन् । कोरोना महामारीको प्रत्यक्ष असर कम हुँदै गए पनि यसले बालबालिकाको सिकाइमा पारेको असर भने दसौँ वर्षसम्म रहिरहने अध्ययनहरूको निष्कर्ष छ । 

कोरोना महामारीका कारण संसारका सबैजसो मुलुकमा लामो समयसम्म विद्यालय बन्द रहे। नेपाललगायतका केही मुलुकमा कक्षाकोठामा सिकेका कुरालाई मात्र सिकाइ मान्ने प्रवृत्ति देखिन्छ। यसैले विद्यालयमा औपचारिक पठनपाठन बन्द हुँदा सबैजसो सिकाइ प्रक्रिया रोकिने नै मानिन्छ।

युनिसेफले कोरोना महामारीका कारण दक्षिण एसियाका बालबालिकामा परेको सिकाइ क्षतिसम्बन्धी अध्ययन प्रतिवेदन २०२१ प्रकाशित गरेको छ । उक्त प्रतिवेदनमा दक्षिण एसियाका १० वर्षको उमेरका ६० प्रतिशत बालबालिका महामारीअघि नै सामान्य कुरा पढ्न र बुझ्न सक्षम नरहेको देखाएको छ । यस्ता बालबालिका महामारीका कारण झनै पीडित भएका छन् भने सामान्य शैक्षिक स्तर भएका अन्य बालबालिकाको स्तरसमेत महामारीपछि खस्केको पाइएको छ । यसैगरी प्राथमिक तहमा अध्ययन गर्ने उमेरका साढे १२ लाख र आधारभूत तहमा अध्ययन गर्ने उमेरका साढे १६ लाख विद्यार्थी विद्यालयबाहिर रहेकामा महामारीले यस्ता विद्यार्थीको सङ्ख्या पनि निकै बढेको देखाएको छ । महामारीका कारण उपयुक्त वैकल्पिक विधिको अभाव र स्रोतसाधनमा पहुँच नपुगेका कारण विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या निकै उच्च हुने कुरा अध्ययनले देखाएको छ । विद्यार्थीको गुमेको सिकाइ क्षमतालाई पुनस्र्थापित गर्न सम्बन्धित देशका सरकारले उपयुक्त किसिमका कार्ययोजना बनाई विद्यार्थीमैत्री वातावरणमा सिकाइ क्रियाकलाप सञ्चालन गर्नसमेत उक्त अध्ययनले सुझाव दिएको छ ।

युनेस्कोले गरेको अर्को अध्ययन कोभिड–१९ ले मध्यपूर्व र उत्तर अफ्रिकाका बालबालिकाको सिकाइमा पारेको क्षति तथा सिकाइ पुनरुत्थान प्रतिवेदन २०२१ ले पनि त्यस क्षेत्रका बालबालिकाको सिकाइमा क्षति पुगेको निष्कर्ष निकालेको छ । कोभिडका कारण सामान्य पढ्न र बुझ्न नसक्ने बालबालिकाको सङ्ख्या नौ दशमलव चार प्रतिशतले वृद्धि भई ६९ दशमलव तीन प्रतिशत पुगेको र प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट्स एसेसमेन्ट (इसा) ले १५ वर्षका बालबालिकाको उपलब्धि मापनका लागि लिने परीक्षामा उनीहरूको उपलब्धि औसतभन्दा तल रहेको देखाएको छ । यस अवधिमा औसतभन्दा कमजोर बालबालिका ६० दशमलव ६१ बाट बढेर ७१ दशमलव ६ प्रतिशत पुगेको आकलन गरिएको छ । यी दुवै अध्ययनले महामारीका कारण बालबालिकाको आदतमा परिवर्तन आई सिकाइ क्रियाकलापमा नकारात्मक असर परेको देखाएका छन् । 

पहिले आर्जन गरेको सीप विस्मृतिमा पुगेको र उपयुक्त समयमा उमेरअनुकूलका सीप सिकाइमा बाधा पुगेको कुरालाई अनुसन्धानमा महìवका साथ उठाइएको छ । संसारका विभिन्न मुलुकमा कोभिडका कारण सिकाइमा के कति क्षति पुग्यो भनेर अध्ययन भइरहेका छन् । यस्ता अध्ययनले महामारीका कारण बालबालिकाको औसत सिकाइ कम्तीमा पनि दुई वर्ष पछाडि धकेलिएको निष्कर्ष निकालेका छन् । यसअनुसार १० कक्षामा पढिरहेका विद्यार्थीको उपलब्धि स्तर सामान्य अवस्थाका ८ कक्षाका विद्यार्थीको बराबर रहेको बुझिन्छ । हरेक कक्षामा दुई वर्ष बराबरको क्षतिका कारण ५ कक्षामा पढ्ने विद्यार्थीको सिकाइ उपलब्धि स्तर सामान्य अवस्थामा ३ कक्षामा पढ्दै गरेका विद्यार्थी जत्तिकै रहेको देखिएको छ । कुनैकुनै अध्ययनले त बालबालिकाको सिकाइमा महामारीको निकै ठूलो असर परेको समेत देखाएका छन् । उनीहरूले कम्तीमा तीन वर्षको सिकाइ उपलब्धि ह्रास भई बाल सिकाइमा अपूरणीय क्षति पुगेको अनुमान गरेका छन् । 

नेपालका सन्दर्भमा यस प्रकारका अध्ययन र अनुसन्धान नभए पनि महामारीको समयमा प्रभावकारी वैकल्पिक विधि उपलब्ध नभएको र विद्यालय लामो समयसम्म बन्द भएका कारण सिकाइमा निकै क्षति पुगेको सहजै अनुमान गर्न सकिन्छ । विगतका दुई वर्ष नियमित रूपमा हुने परीक्षण र मूल्याङ्कनबिनै विद्यार्थीको स्तरोन्नति गरिएको र विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावना हराउँदै गएकाले पनि सिकाइमा पुगेको क्षतिको असर अझ लामो समयसम्म पर्दै जाने सम्भावना रहन्छ । बालबालिकालाई आधारभूत सीप सिकाउने दिशामा केन्द्रित भएर शिक्षण संस्थाहरू बालमनोविज्ञानलाई बुझेर त्यसैअनुरूप कार्यक्रम सञ्चालन गर्ने दिशामा अग्रसर भएनन् भने बिचैमा पढाइ छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न सक्दछ । अबका केही वर्ष नियमित पठनपाठनमा संलग्न भए पनि अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीहरूको सङ्ख्या पनि बढ्ने देखिन्छ । 

महामारीको समयमा इन्टरनेटको पहुँच भएका विद्यार्थीले कुनै न कुनै रूपमा पढाइलाई निरन्तरता दिएको भए पनि इन्टरनेटका माध्यमबाट सिकेका उमेरसँग तालमेल नहुने क्रियाकलापले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । प्रौढ (एडल्ट) साइट हेरेका र हेर्ने लत लागेका बालबालिकाको सङ्ख्या पनि उल्लेख्य रहेबाट मनोसामाजिक समस्याले समेत बालबालिकामा जरो गाडेको बुझिन्छ । इन्टरनेटको निर्वाध पहुँचले पनि सिकाइ उपलब्धि कमजोर बनाउन मद्दत पु¥याएको छ । सामान्य अवस्थाका बालबालिकाको भन्दा महामारीको प्रतिकूल अवस्थामा पठन संस्कृति हराएको र फरक किसिमको मनोविज्ञान भएका बालबालिकालाई पठनपाठन क्रियाकलापमा संलग्न गराई आधारभूत सीप सिकाउन समय लाग्ने भएकाले शिक्षा क्षेत्रमा तुरुन्तै उपयुक्त किसिमका प्रविधिको प्रयोग गर्नुपर्ने देखिन्छ । यसका लागि घर, परिवार, समाज र विद्यालयको उत्तिकै महìवपूर्ण भूमिका रहन्छ । 

विगतको जस्तो उपलब्धि खोजेर बालबालिकालाई अतिरिक्त दबाब दिनुभन्दा उनीहरूमा रहेका कमी कमजोरीलाई हटाउन प्रेरित गर्दा बालबालिकालाई समय अनुकूल सीप सिकाइमा सहयोग पुग्नेछ । शिक्षण कार्यमा संलग्न शिक्षकशिक्षिका तथा महामारीको असर बेहोरेका बालबालिकालाई अबका केही वर्ष निकै चुनौतीपूर्ण हुने देखिन्छन् । उपयुक्त किसिमको वातावरण सिर्जना गरी बालमैत्री वातावरणमा सिकाइलाई प्रोत्साहन गर्न सकेमा भने महामारीका कारण गुमेको सिकाइ क्षमतालाई चाँडै नै पुनस्र्थापित गर्न सकिने सम्भावना पनि जीवितै छ ।