• १९ असोज २०८१, शनिबार

पहिरोले घर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार २२ गते। अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो। 

स्याङदीमा रहेको आफ्नो घर पहिरोले पुरिएर बास बस्न गएको घर नै पहिरोले बगाउँदा ६५ वर्षीया गुह्येश्वरी शर्मा मरासिनी, ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको हो। ६६ वर्षीय माधव शर्मा बेपत्ता हुनुभएको गाउँपालिका अध्यक्ष सूर्य कुँवरले जनकारी दिनुभयो। 

घर पुरिँदा बास बस्न जानु भएका चार जना मध्ये एक जना भने सकुशल हुनुहुन्छ। दुर्घटनास्थलमा प्रहरी पुग्न सकेको छैन। स्थानीयले उद्धारको काम गरिरहेका छन्। 

यस्तै गल्याङ नगरपालिका वडा नम्बर –७ देबिस्थानमा मिना थापाको गोठ बगाउँदा एक भैँसी र एक पाडो मरेको छ। यस्तै विष्णुमाया थापा, मित्र कुमारी बराल, यम बहादुर हिटानको घर जोखिममा परेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो।

यस्तै पुतलीबजार नगरपालिका वडा नम्बर १ मा फारुक अलिको वर्कसपमा रहेको बा ०२–०५० प ४०१८ नम्बरको स्कुटर पहिरोले पुरिएको छ। पहिरोले मोटरसाइकल धुने दुई वटा मेसिनमासमेत क्षति पुर्‍याएको छ। पहिरोले कालीमाटीमा पहिरोले आशा रोक्काको एक तले पक्की घर जोखिममा परेको छ। 

आँधीखोला गाउँपालिका–३ मा मनमाया विकको गोठमा पहिरोले क्षति पुर्‍याएको छ। उहाँको गोठमा रहेका दुई वटा बाख्रा मरेका छन्। 

अर्जुन चौपरी–३ की सरस्वती दमाईको घर भत्किएको छ भने वडा नम्बर १ डारेगौडाँका गुड्डु दमाईको घरमा आंशिक रूपमा क्षति पुगेको छ। अर्जुन चौपरी १ कै टोपबहादुर गुरुङले खेत जोत्न लिएर हिँडेको गोरु ठाडो खोलाले बगाएको छ। 

वालिङ नगरपालिका १ रामबाच्छामा टेकबहादुर विकको गोठ पुरिँदा दुई वटा बाख्रा मरेका छन्। 

गल्याङ नगरपालिका –६ पिडखोलामा देव बहादुर गुरुङले जोत्न लिएर हिँडेको गोरु बेपत्ता भएको हो। पहिरोले सिद्धार्थ राजमार्गसँगै ग्रामीण सडकको यातायात अवरुद्ध भएको छ।