• २० असोज २०८१, आइतबार

नेपाली सुरक्षा गार्डको तलब बढाउन आग्रह

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका गृहमन्त्री हमजाह विन जैनुदिन मलेसियाको गृह मन्त्रालयमा शनिबार भेट गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १८ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिङ्गेट बनाउन प्रस्ताव गर्नुभएको छ । मलेसियाको भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह विन जैनुदिनसँग शनिबार भएको भेटमा यस्तो प्रस्ताव गर्नभएको हो । 

मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डले अहिले एक हजारदेखि दुई हजार रिङ्गेट अर्थात् करिब २८ हजारदेखि ५५ हजार रुपियाँ पाउने गरेको छन् । मन्त्री श्रेष्ठले करिब ८५ हजार रुपियाँ प्रस्ताव गर्नुभएको हो ।

भेटवार्तामा उहाँहरूबीच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको जनाइएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल गर्नुभएको छ । 

नेपाली श्रमिक मेहनती र इमानदार हुने चर्चा गर्नुहुँदै मलेसियाका गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताउनुभयो ।  नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरूबीच छलफल भएको जनाइएको छ । 

नेपालबाट सुरक्षा गार्डमा जानेमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिस सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्डका रूपमा नेपालीप्रति उच्च विश्वास र सद्भाव रहेकाले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्नेबारे छलफल भएको भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो। 

यसअघि मन्त्री श्रेष्ठले मलेसियाका मानव संसाधन विकासमन्त्री सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो ।

साथै नेपाल र मलेसियाबीच संयूक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौँमा गर्ने सहमति भएको पनि जानकारी गराइएको छ ।