• १३ साउन २०८१, आइतबार

हात्ती संरक्षण प्रयासको सराहना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १८ गते  । नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् । 

काठमाडौँमा तीन दिनसम्म सञ्चालन भएको बैठकमा ती मुलुकका सरकारी उच्च अधिकारी, हात्ती अध्येता, संरक्षणविद् तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाहरूले नेपाल संरक्षणको क्षेत्रमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

बैठकमा नेपालसहित भारत, चीन, म्यान्मार, श्रीलङ्का, भुटान, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, भियतनाम, बङ्गलादेश, मलेसिया र कम्बोडियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सबै मुलुकका तर्फबाट काठमाडौँ घोषणापत्र जारी भएको छ । घोषणापत्रमा नेपालले संरक्षणमा हासिल गरेको सफल कार्यक्रम अन्य मुलुकले पनि अनुशरण गर्न सकिने उल्लेख गरिएको छ । 

हात्ती प्रकृतिको विशिष्ट वन्यजन्तु भएकाले यसको संरक्षणमा विशेष खालका चुनौती रहेको औँल्याउँदै संरक्षणका लागि प्राथमिकतासाथ काम गर्नुुपर्नेमा बैठकले जोड दिएको छ । घोषणापत्रमा हात्ती पाइने मुलुकबीच द्विपक्षीय र बहुपक्षीय सहयोग, समन्वय र साझेदारीमा काम गर्न सबै मुलुक सहमत भएको कुरा उल्लेख गरिएको छ । 

त्यसैगरी स्थानीय समुदायसँगको मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न जीविकोपार्जनका गतिविधि सञ्चालन गर्नुुपर्ने, हात्तीको बासस्थान संरक्षण तथा सुधारका लागि भूमि प्रयोगको दीर्घकालीन योजना अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । 

हात्तीलगायतका दुर्लभ वन्यजन्तुको चोरी सिकार तथा तिनका अङ्गहरूको अवैध व्यापारलाई रोक्न अन्तरदेशीय र अन्तर्राष्ट्रिय साझा मञ्चमा एकमत भएर उभिने र कानुन कार्यान्वयनमा जोड दिने कुरामा बैठकमा सहभागी मुलुकहरू सहमत भएका छन् । 

घर पालुवा हात्तीबाट पर्यापर्यटनको प्रवद्र्धन भइरहेको सन्दर्भमा त्यस्ता हात्तीको आहार, विहार, औषधि उपचार तथा स्वास्थ्य परीक्षणलगायतका विषयमा संवेदनशील हुनुपर्ने कुरामा सबै मुलुक सहमत भएका छन् । 

हात्तीसम्बन्धी भए, गरेको विश्वव्यापी अध्ययन अनुसन्धान तथा संरक्षणका लागि अवलम्बन गरिएका प्रविधि र असल सिकाइको अनुुभव आदानप्रदान गर्ने र ती अनुुभवलाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाहरूलाई सहयोगका लागि आग्रह गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ । 

हात्ती संरक्षणमा देखिएका नयाँ चुनौतीलगायतका विषयका सूचनालाई हात्ती पाइने मुलुकहरूबीच आदानप्रदान गर्ने,  हात्ती संरक्षणको राष्ट्रिय कार्ययोजना निर्माण र कार्यान्वयन गर्न सबै मुलुक सहमत भएका छन् । 

बैठक समापनपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भन्नुुभयो, “हात्ती विशिष्ट खालको वन्यजन्तु भएकाले यसको संरक्षणका लागि विश्व समुदायलाई नै हातेमालो गर्न बैठकले आह्वान गरेको छ । हात्ती पाइने मुलुकले संरक्षण गर्नुु पहिलो दायित्व भए पनि संरक्षणमा अन्य मुलुकको पनि उत्तिकै दायित्व हुन्छ ।” 

विशेष गरी विकासोन्मुुख मुलुकहरूमा विकासका काम सञ्चालन गर्दा वातावरणमैत्री बनाउने नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि, सम्झौतालाई अक्षरशः पालना गर्न अभिप्रेरित गर्ने कुरामा पनि सहभागी मुलुक सहमत भएका छन् ।