• १९ असोज २०८१, शनिबार

मुख्यमन्त्री सिंहद्वारा मधेशका चार दलका ६ मन्त्री बर्खास्त

blog

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह

काठमाडौँ, असार २२ गते । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका चार दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो ।

नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गर्नुभएको हो ।

अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चार मन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गर्नुभएको छ ।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । शनिबार काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेश सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ ।

मुख्यमन्त्री सिंहले राष्ट्रिय समीकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेश प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसाबले प्रदेश सरकार गठन भएको बताउनुभयो ।

उहाँले प्राविधिक समस्या भएकाले राजीनामा नदिईकन बसेकाले बर्खास्त गर्नुपरेको बताउनुभयो । उहाँले कुनैपनि मन्त्रीले असहयोग नगरेको पनि जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले मन्त्रीहरूकै सहमतिमा बर्खास्ती गरिएको बताउनुभयो ।