गण्डकी,  वैशाख १८ गते । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विकासका योजनालाई साकार पार्न श्रम आवश्यक हुनेमा जोड दिनुभएको छ ।मजदुर दिवस २०२२ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकको विकासको सम्भावनालाई उजागर गर्न श्रमको अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा  अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने उल्लेख गर्दै सन्देशमा प्रदेश प्रमुख गुरुङले सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशवासीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै उहाँले मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्नुभएको छ ।
“यस दिवसले सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिकरूपमा बुलन्द गरी विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ । 
उहाँले अन्तर्राष्ट्रिय मजदुर दिवसले रोजगारीको सिर्जना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                