• १० मंसिर २०८१, सोमबार

अपराधप्रति समाजको दृष्टिकोण

blog

अपराध मानव व्यवहारकै एक अंश हो । त्यसैले यसको अस्तित्व मानव अस्तित्वसँग गाँसिएको छ । शरीर सँगसँगै रोगको सम्भाव्यताको पनि प्रादुर्भाव भए जस्तै अपराध पनि सामाजिक रोगको रूपमा समाज सँगसँगै प्रादुर्भाव भएको पाइन्छ । प्राचीन समयमा रोगलाई ईश्वरबाट सञ्चालित इच्छा वा ईश्वर प्रदत्त दण्ड मानिन्थ्यो र उपचारको निमित्त कम उपाय प्रयोग गरिन्थ्यो । जुनसुकै रोगमा ती उपाय लगाइन्थे । आजको चिकित्सा विज्ञानले ती पुराना कुरालाई विश्वास गर्दैन । त्यस्ता कुरालाई रूढिवादी सोचको रूपमा लिने गरिन्छ । यसैले आजका मानिस पहिलेको भन्दा मानव शरीर रचनाको सम्बन्धमा बढी यथार्थ र सूक्ष्म जानकारी राख्न सक्ने भएका छन् । किनकि अहिले धेरै जसो रोगको उत्पत्ति जान्न, वर्गीकरण गर्न र त्यसको उपचार पत्ता लगाउन मानिस सक्षम छन् । 

सामाजिक रोगको रूपमा रहेको अपराधको पनि प्राचीन धारणा त्यस्तै रूढिग्रस्त अन्धविश्वासमा आधारित थियो । उदाहरणका लागि अपराधलाई भूतप्रेतको दुष्टात्माको खेल मानिन्थ्यो । त्यसको उपचारको निमित्त कठोर शारीरिक दण्ड, झारफुक वा मन्त्रको प्रयोग गरिन्थ्यो तर अहिलेको समाजमा प्राचीन रूढिवादी र अन्धविश्वासलाई त्यागी सामाजिक रोगको रूपमा रहेको अपराधको कारण जान्न, त्यसको वर्गीकरण गर्न र सही दण्ड तथा उपचार विधि पत्ता लगाउन सकिन्छ । 

हुन त व्यवहारमा अपराधप्रति समाजका सबै वर्गको एकै दृष्टिकोण रहेको हुँदैन । कसैका निम्ति सामान्य गाली र हातापात दैनिक व्यवहारको स्वीकार्य पक्ष हुन सक्छ तर त्यही कार्य मध्यम वा उच्च वर्गका निमित्त अपराध ठहर्न सक्छ । यसर्थ अपराधको पनि सर्वव्यापी परिभाषा गर्न सकिँदैन । किनभने अपराध देशकाल, परिस्थिति अनुसार परिवर्तन भइरहन्छ । अपराधशास्त्रमा पनि अपराधको वर्गीकरण गरी खास प्रकृतिको अपराध खास वातावरणमा वा परिस्थितिले वा अन्य कमजोरीले हुन्छ भनी वर्गीकरण गर्ने र त्यसको लक्षण खुट्याइ समाधान पत्ता लगाउने काम गरिन्छ । अतः अपराध देशकाल परिस्थिति समाज अनुरूप परिवर्तनशील रहन्छ । 

यसै सन्दर्भमा विभिन्न सिद्धान्तको पनि जन्म भएको पाइन्छ । उदाहरणका लागि अपराधको भौगोलिक सिद्धान्त । यो सिद्धान्त उन्नाइसौँ शताब्दीको प्रारम्भमा केही सामाजिक चिन्तकहरूको प्रयासमा जन्म भएको हो । यो सिद्धान्तले अपराधको सम्बन्ध भूबनोट र मौसम परिवर्तनसँगै रहेको बताउँछ । यस सिद्धान्तको जन्म हुनुमा प्रसिद्ध अपराधशास्त्री क्वेटलेट, ग्वेर्रीको नाम उल्लेखनीय छ । यस सिद्धान्त अनुसार अपराधको सम्बन्ध जाडो वा गर्मी मौसमसँग रहेको छ । जाडो मुलुकका बासिन्दालाई आफ्नो जीवनयापन गर्ने कठोर परिश्रम गर्नु पर्छ । उनीहरूले प्रकृतिको कठोरतासँग सामना गर्ने, खाद्य पदार्थ जुटाउन, बढी सुझबुझ लगाउनु र परिश्रम गर्नु पर्छ । यसैले उनीहरूको अपराधप्रतिको झुकावमा कमी हुन्छ । किनकि यस क्षेत्रमा बस्ने मानिस सिधासाधा स्वभावका र परिश्रमी प्रकृतिका हुन्छन् । उदाहरणका लागि प्रसिद्ध अपराधशास्त्री रिङ्कले साइबेरियामा बसोबास गर्ने एस्किमो जातिको अध्ययन गरेका थिए । उक्त अध्ययनपछि उनले एस्किमो जाति आफ्नो विचारमा बढी स्थिर छन् भन्ने कुरा पत्ता लगाए । एस्किमो जाति आफ्नो जीवनयापन गर्न कडा परिश्रम गर्छन् । यिनीहरू बिच झगडा बिरलै हुन्छ । यिनीहरू आफ्नो असन्तुष्टिलाई मौनता साँधेर व्यक्त गर्छन् भन्ने कुरा रिङ्कले पत्ता लगाएका थिए । 

यस्तै, गर्मी मुलुक वा स्थानका बासिन्दाको जीवनयापन गर्ने शैली छुट्टै रहन्छ । थोरै भोजन, थोरै वस्त्र र सामान्य आरामले पनि यहाँको मानिसको जीविका चल्छ । यिनीहरूलाई आफ्नो जीवन धान्न कम परिश्रम गरे पुग्छ । त्यसको फलस्वरूप यी कल्पनाशील, कम काम गर्न खोज्ने, मनमौजी, प्रकृतिका हुन्छन् । यिनीहरू नै आपराधिक गतिविधिमा बढी संलग्न हुन्छन् भन्ने कुरा सन् १८९३ भन्दाअघि नै डेनिस विद्वान्ले पत्ता लगाएका थिए । उनको भनाइ अनुरूप गर्मीले मानिसको दिमागलाई नशालु पदार्थ झैँ उक्साउँछ र ऊ असल वा खराब बाटोमा लाग्छ । यसैले तातो चिसोसँग अपराधको सम्बन्ध रहन्छ । गर्मी मौसममा जिउज्यानविरुद्धको अपराध बढी हुन्छ भने जाडो मौसममा सम्पत्तिविरुद्धको अपराध बढी हुन्छ । यसर्थ, थर्ममिटरमा तापक्रम घटबढ भए अनुसार अपराधको दरमा पनि घटबट हुन्छ भन्ने सिद्धान्तलाई अपराधशास्त्रमा तापमानको सिद्धान्त पनि भन्ने गरिन्छ । 

यसबाहेक प्राकृतिक सम्पदा र आर्थिक समुन्नतिसँग पनि अपराधको सम्बन्ध रहन्छ । आर्थिक समुन्नतिमा अपराध दर कम र आर्थिक अवनतिमा अपराध दर ज्यादा हुन्छ । मानिसको जीवनस्तरमा अर्थतन्त्रको ठुलो प्रभाव परेको हुन्छ । यो कुरालाई मानव इतिहासको सबै अवधिमा निर्विवाद स्वीकार गरिएको छ । 

आर्थिक समृद्धि वा पतन, सम्पन्नता वा विपन्नतासँग अपराधको सम्बन्ध रहन्छ भन्ने कुरा विधिशास्त्रीहरूले अध्ययनबाट उल्लेख गरेको पाइन्छ । उदाहरणका लागि अठारौँ शताब्दीको उत्तरार्धमा आदम स्मिथले आफ्नो सुप्रसिद्ध पुस्तक ‘बेल्थ अफ नेसन’ मार्फत अर्थतन्त्रले समाजमा पार्ने प्रभाव प्रस्तुत गरेका थिए । यसै गरी सन् १७६६ मा बेलायतका विद्वान् माल्थसले जनसङ्ख्या अनियन्त्रित रूपमा बढ्दै गएमा त्यसको परिणाम अपराध, रोग, भोक, अकाल, मृत्युका रूपमा समाजले बेहोर्नु पर्ने चेतावनी दिएका थिए । अपराध कसरी हुन्छ भन्ने पत्ता लगाउने सन्दर्भमा नै उन्नाइसौँ शताब्दीमा एक अध्ययन गरी सामाजिक अवस्थासँग अपराधको सम्बन्ध पत्ता लगाउने प्रयास गरिएको पाइन्छ, जस अनुसार समाजको परिपे्रक्ष्यामा अपराधको अध्ययन गर्ने पहिलो व्यक्ति क्वेटलेट थिए । समाजले अपराधलाई जन्माउँछ । अनि अपराधलाई कार्यान्वयन गर्ने प्रतिनिधि अपराधी हुन्छ भनी उनले अपराध र समाजको सम्बन्ध अथ्र्याएका थिए । उनले सन् १८३६ मा प्रकाशित आफ्नो रचनामा फ्रान्स, हल्यान्ड, लक्जेम्बर्गका तथ्याङ्क अध्ययन विश्लेषण गरी सामाजिक अवस्थासँग अपराधको सम्बन्ध देखाउन खोजेका थिए । यसरी अपराधको उत्पत्ति र सम्बन्धबारे लामो अध्ययन अनुसन्धान भएको पाइन्छ ।

समाज स्वीकार्य आचरण अनुसार काम गर्नु सबैको कर्तव्य हो । प्रत्येक व्यक्ति आफ्नो कार्यको निमित्त आफैँ प्रहरी हो । समाज अस्वीकार्य आचरणबाट टाढा रहन ऊ आफैँ सचेत हुनु पर्छ । त्यस्तो हुन नसकेमा उसका विरुद्ध सामाजिक नियन्त्रण सक्रिय हुन्छ । यसरी कसुर नियन्त्रण गर्न समाजमा दुई कार्य सक्रिय रहेका हुन्छन् । पहिलो हो सकारात्मक र दोस्रो हो नकारात्मक । कसैले प्रशंसनीय काम गरेमा उसलाई पुरस्कार, मानप्रतिष्ठा दिनु, त्यसको प्रचारप्रसार गर्नु सकारात्मक नियन्त्रण पद्धति हो तर समाज अस्वीकार्य काम गरेबापत निन्दा गर्नु, हेला गर्नु, दण्ड दिनु र त्यसको प्रचारप्रसार गर्नु नकारात्मक नियन्त्रणको कार्य हो । त्यसैले सकारात्मक र नकारात्मक दुवै कार्यमा औपचारिक र अनौपचारिक कार्य समावेश भएका हुन्छन् । समाजको औपचारिक नकारात्मक नियन्त्रण प्रणाली फौजदारी कानुन हो । कसुर भइसकेपछि कसुरदारलाई दण्ड दिन यो सक्रिय हुन्छ । कसुरदारको गिरफ्तारी, प्रमाण सङ्कलन, अदालतमा मुद्दा दायर र फैसला, फैसलाउपर पुनरावेदन सबै औपचारिक ढाँचामा सञ्चालित हुन्छन् । यी सबै क्रिया निर्धारित कानुनबाट व्यवस्थित हुँदै आएको पाइन्छ । उदाहरणका लागि मुलुकी अपराध संहिता, २०७४ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदि रहेका छन् । 

फौजदारी कानुनको लक्ष्य कसुरदारलाई दण्ड दिनु हो । यसको निर्माण सर्वोच्च विधायनका माध्यमबाट औपचारिक रूपमा भएको हुन्छ । विश्वविद्यालयका नियम, सार्वजनिक संस्थानका नियम, गैरसरकारी सङ्गठनका नियम, खेलकुद संस्थाका नियम वा श्रम सङ्गठनका नियमले अनियमित कार्य गर्नेका विरुद्ध दण्डको व्यवस्था गरेको हुन्छ । त्यस्तै, फौजदारी कानुन स्पष्ट तथा निश्चित हुनु अति आवश्यक मानिन्छ । वास्तवमा कोही पनि व्यक्ति जन्मँदै अपराधी भएर जन्मेको हुँदैन । किनकि अपराध बढाउन र हुर्काउन समाज नै जिम्मेवार मानिएको छ । बालकले सानैदेखि पाएको शिक्षादीक्षा, वातावरण, सङ्गत सबै उसको व्यक्तित्व निर्माणमा सहायक हुन्छन् । यीमध्ये कुन कुराको कुप्रभावले व्यक्ति कुकर्ममा प्रवृत्त हुन पुगेको हुन्छ । सोको खोज अनुसन्धानबाट मात्र पत्ता लगाउन सकिन्छ । व्यक्तिपिच्छे रोगको प्रकृति फरक भए झैँ व्यक्तिपिच्छे अपराध सम्बद्ध समस्या पनि पृथक् हुन सक्छ । 

अन्त्यमा प्रसिद्ध अपराधशास्त्री डुर्कहाइमका विचारमा समाजमा अपराधको दर न्यून छउञ्जेल आत्तिनु पर्दैन । त्यो त समाजको स्वाभाविक स्थिति हो । स्वस्थ शरीरलाई पनि सानातिना रोगले कहिलेकाहीँ सताउँछ तर त्यो शरीर अस्वस्थताको परिचायक होइन । यदि समाजमा अपराधको दर बर्सेनि बढ्दै गयो भने त्यो चाहिँ साँच्चै चिन्ताको विषय हो । यसलाई समाज अस्वस्थ भएको लक्षण मान्न सकिन्छ । उदाहरणका लागि नेपालमा साइबर अपराधको सङ्ख्या बढदै गएको कुरा तथ्याङ्कबाट देखिन्छ । यो चिन्ताको विषय हो । त्यसैले अपराधको रोकथामका लागि समाज सदैव सचेत रहनु आवश्यक छ ।