• २३ असार २०८१, आइतबार

भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा

blog

पहिरोको जोखिममा रहेका अस्थायी टहराहरु । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार २० गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ । 

निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पको कारण घर क्षति भएपछि अस्थायी आवासका लागि बनाएका टहरा नै पहिरोको जोखिममा परेका हुन् । टहराहरू नै पहिरोको जोखिममा रहेपछि मानवीय तथा अन्य क्षतिको त्रास बढेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

उहाँका अनुसार बाँके गाउँका भरत केसी, लाली पुन, मन बहादुर विष्ट, कर्ण बहादुर पुन, खिर्मी केसी, भिमे कामी, बुदे कामी, शेरबहादुर केसी, लीला केसी, जयबहादुर खत्री, अमृत नेपाली लगायत करिब २० जनाको अस्थायी आवास पहिरोको उच्च जोखिममा रहेका छन् । 

भूकम्पको कारण जमिन कमजोर रहेको र भिरालो जमिन रहेकोले वडाका अन्य बस्तीहरू समेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । यहाँका विभिन्न विभिन्न स्थानहरूमा भूकम्पले जमिनको सतह नै चिरा चिरा पारेको छ । सबै वडावासीहरूलाई सतर्क तथा सुरक्षित रहन आह्वान गरिएको उहाँले उल्लेख गर्नुभयो ।