• १८ असार २०८१, मङ्गलबार

थाली नाच संरक्षणमा महिला

blog

थाली नाच सिक्दै म्याग्दीका महिलाहरू । तस्बिर: साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ) ,असार १६ गते । लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ । 

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्य ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत ९ गतेदेखि सदरमुकाम बेनीमा सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको हो । 

रेकर्डिङ गीतमा थाली नाच सम्बन्धी सिप सिकाइएको छ । म्याग्दीकै पहिचान बनेको लोकप्रिय थाली नाचको मौलिकता संरक्षण र संवर्धन गर्दै युवा पुस्तामा हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर ‘लोकेश’को भनाइ छ । थाली नाच सबैले नाच्ने गरिए पनि यसको मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो ।

थाली नाच मगर समुदायको मात्र नभई पछिल्लो समय साझा भएको मगर सङ्घ म्याग्दीकी सल्लाहकार डक माया पाइजाले बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बनेको थाली नाच मौलिक लोकनृत्य हो । यसको संरक्षण र संवर्धनमा सबै जुट्नुपर्छ ,’’मगर सङ्घ म्याग्दीकी निवर्तमान अध्यक्ष समेत रहनुभएकी पाइजाले भन्नुभयो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो । 

म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् । थाली नाच कलाकार खिमा पुर्जाले ३२ जना जना प्रशिक्षार्थीहरूलाई थाली नाच बारे सिप सिकाउनुभएको थियो । तालिम लिएपछि थाली नाचको इतिहास र मौलिकताका जानकारी हासिल सँगै नाच्ने सिप सिकेको प्रशिक्षार्थीहरू टिका पुर्जा र मधु रोकाले बताउनुभयो ।

बि.सं. २०२८ सालमा चिम खोलाकी हिरामायाले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।  हिरामाया र धनकुमारी थापासहितको ४ जनाको टोलीले बि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्नुभएको थियो । मगर सङ्घले जेठ १३ देखि २८ गतेसम्म मगर भाषा प्रशिक्षण सञ्चालन गरेको थियो । भने यसअघि लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरेको थियो ।