• १६ असार २०८१, आइतबार

नरैनापुर गाउँपालिकाको बजेट पारित

blog

नरैनापुरको १५औँ गाउँसभा, जसले बजेट, नीति र कार्यक्रम पारित गरेको छ । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असार १४ गते । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । 

गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध सुरु गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम र ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरी बहुमतले पारित गरेको हो । 

गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गर्नु भएको नीती तथा कार्यक्रम पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले बताउनुभयो । 

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा “किसान अब न हुवा जाई परिसान” मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ भने “ट्रेकिङ अब कहाँ है दुर चलो नरैनापुर” कार्यक्रममार्फत् पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गरिने गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा “मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी” कार्यक्रम संचालन गरी मदरसाको पढाई पश्चात पनि पढाईलाई निरन्तरता दिन जोड दिइने बताउनुभयो । 

पालिकाले ११ वटा महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको लेखा अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । उहाँले सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट बहुमतले पारित भएको बताउनुभयो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत चौधरीले सञ्चालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।