सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम सीमान्तमा पर्ने अपि हिमालसँग सौन्दर्यको अथाह खानी छ । अगाडि मझौला कालो पहाडको कभर लगाएर पछाडि ७१०० मिटर अग्लो उभिएको अपि हिमालको थाप्लो र मुहारमा जब घामले प्रीति गाँस्छ, एकाएक पर्दा खोली अद्भुत सौन्दर्यको उद्घाटन गरे झैँ लाग्छ । अपिको अग्रभागमा अनेकौँ खुड्किला झैँ देखिन्छन् मानौँ यो सुनको भर्याङ हो जहाँ टेक्दै अपिको शिरमा पुग्न सकिन्छ । यो कुनै सिपालु कलाकारको सानदार चित्रकला झैँ देखिन्छ । अपि सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमाल हो । त्यसकै लहरमा नाम्पा र वरिपरि अनेकौँ सुन्दर हिमाल छन् ।
अपिको शिर एउटा चुचुरोमा सीमित छैन । यो उच्च समस्थली झैँ देखिन्छ जो दक्षिण उच्च विन्दुबाट उत्तरतिर होचिँदै गएको छ । रेखा जोशी र सेरी औजले गाएको प्रेमिल डेउडा गीतमा जोडिए झैँ अपिको सौन्दर्य साँच्चिकै सानदार लाग्छ–
जुनी जुनी तम्रै भया रङ्गी रुमाल
रहुँला साईको साथ ला
टल्किरन्याँ झल्किरन्याँ अपि हिमाल
अपि हिमाल विगतमा तीन जना विदेशीले आरोहण गरेको जानकारी पाइन्छ । अपि चढ्न सहज चाहिँ छैन तर आधार शिविर पुग्नुकै मजा पनि कम छैन । अपि गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराका अनुसार अपि आधार शिविर देशभरिमा सडक सञ्जालबाट सबैभन्दा नजिक, सबैभन्दा सहज र सबैभन्दा सुन्दर आधार शिविर हो । धौलीओडारबाट झिसमिसेमै एक घण्टा उकालो उक्लँदासम्म मलाई यो कुरा सबैले आफ्ना ठाउँबारे भर्ने फूलबुट्टा झैँ लागिरहेको थियो । उकालो सकिएर जब हरियो चौरयुक्त विशाल उच्च समस्थली देखा प¥यो, मलाई त्यो ठाउँ बोहोराले भनेभन्दा धेरै सानदार लाग्यो । चौरको बिचमा बगिरहेको सङ्लो चमेलीखोला, उत्तरतिर दुई पहाडको बिचबाट देखिने अर्को विशाल हरित समस्थली, पूर्वदेखि पश्चिमतिर आँखाले भ्याउन्जेल देखिने विशाल हरियो चौर । त्यसको भव्यता शब्दमा वर्णन गर्न सकिन्न, केवल अनुभूत गर्न सकिन्छ । यहाँ सयौँ फुटबल ग्राउन्ड, सयौँ क्रिकेट चौर र हजारौँ भलिबल कोर्ट बनाउन पुग्ने ठाउँ छ ।
अपि हिमालको दायाँतिर आधार शिविरबाट दुई घण्टा पैदलमा पुगिने कालीढुङ्गा ताल छ । बायाँतिर तीन घण्टा पैदलमा पुगिने नेपालको झन्डा आकारको रिङ्देपानी ताल । सबैभन्दा नजिक चमेलीखोलाको मुहान छ, जो अपि हिमालको आँत निचोरिएर कालो पहाडमुनि थिग्रिँदै आइपुगेको हो । उच्च समस्थलीको प्रवेशविन्दुबाट केवल बिस मिनेटमा पुग्न सकिन्छ चमेलीखोलाको मुहान । यही खोला बग्दै तल पुगेपछि सेतो बालुवा मिसिएर चौलानी झैँ देखिन्छ । त्यसैले यसलाई जनबोलीमा चौलानीखोला भनिन्छ । चमेली जलविद्युत् आयोजनाको स्रोत यही खोला हो ।
हिमालबाट बग्ने चिसो स्याँठमा पतञ्जली योगपीठ, दार्चुलाका साधकहरू जोशिलो योगासन प्रदर्शन गरिरहनुभएको थियो । शिविरमा पालिका अध्यक्ष ठेकरे, वडाध्यक्षहरू रामसिंह धामी, गगनसिंह कार्की, अध्यक्ष राजेन्द्रसिंह धामी तथा पालिकाका कर्मचारीको उत्साह कम थिएन । करिब डेढ घण्टापछि मनोक्रान्तिका सिमोन न्यौपानेले सुरु गर्नुभयो ध्यान शिविर । ४५ मिनेट तोकिएको समयलाई उहाँले दुई घण्टासम्म तन्काइदिनुभयो । बल्ल १०:३० बजे सुरु भयो अपि काव्य यात्रा । यो मूलतः काठमाडौँबाट गएका लेखकमा केन्द्रित थियो । लक्ष्मी रुम्बा, सागर उदास, दीपेन्द्रसिंह थापा, प्रभा बरालले कविता सुनाउनुभयो । अपि गाउँपालिका–३ का अध्यक्ष गगनसिंह कार्कीका थुप्रै कविता सुनियो । उहाँ साँच्चिकै राम्रा कवि हुनुहुँदोरहेछ । पत्रकार शान्ति तामाङ, भ्लगर घनश्याम पौडेल, फोटो पत्रकार बल्कुराम पुन, लेखकहरू कुमारी लामा, अनुपम रोशी र राजकुमार गजुरेलका यात्रा अनुभूति रमाइलो थियो । मैले पनि योगसम्बन्धी केही कुरा राखेँ ।
पालिका अध्यक्ष ठेकरे त्यसपछि लेखक टोलीलाई लिएर चमेलीखोलाको मुहान जान तयार हुनुभयो । हरियो चौर हुँदै हामी पश्चिमतिर लाग्यौँ । जति मुहाननजिक पुग्यो, खोलाको आकार सानो हुँदै गयो । केही धाप नाघेपछि १५ मिनेटमै हामी मुहान पुग्यौँ । मुहान भनेर यो कुनै ठुलो ताल थिएन । त्यहाँ सामान्य संरचना थियो । एउटा मन्दिर पनि थियो । केही ढुङ्गा थिए । त्यहीँबाट सानोतिनो नहर बराबरको पानी बगिरहेको थियो । त्यही पानी रसाउँदै गएर तल खोला र धौलीओडारभन्दा तल पुग्दा त नदी नै बनेको थियो । ढुङ्गामाथि बसेर हामीले पद्मासनमा ध्यान मुद्राका केही सामूहिक र केही व्यक्तिगत तस्बिर खिचायौँ । राजकुमारले कैलाशको जल भनी मूलको पानी बोतलमा भरेर काठमाडौँ लाने मनसुवा व्यक्त गर्नुभयो । नभन्दै बाटोमा कसैले माग्दा पनि उहाँले छुनसमेत नदिई त्यो पानी चोखै काठमाडौँ पुर्याउने प्रतिबद्धता दोहोर्याइरहनुभयो ।
फर्कंदा जुत्ता–मोजा खोलेर हरियो घाँसे चौरमा हामी नाङ्गो खुट्टा हिँड्दै आयौँ । त्यहाँ रक्सीका बोतलहरू पुगेका थिएनन् । अतः सिसा वा काँडा बिझ्ने कुनै जोखिम थिएन । कति दिनपछि खुट्टाले जमिन स्पर्श गर्न पाउँदा बेग्लै आनन्द र ऊर्जा प्राप्त भयो । बाक्लो घाँस भएको कति ठाउँमा लक्ष्मी रुम्बा, शान्ति तामाङ, राजकुमार र म ओहोरदोहोर गरिरह्यौँ ।
दिउँसोको १ बजे हामी खाना खाने होटेल आइपुग्यौँ । शान्ति, कुमारी, राजकुमार र म आधार शिविरका दुई होटेलमध्ये पश्चिमतिरको बेसक्याम्प जोगेताल होटेल लजमा खाना खान बस्यौँ । सिमीको बाक्लो झोल, आलु र स्थानीय साग, भाँगोको अचार र भात स्वादिलो थियो । सबैभन्दा स्वादिलो भोक थियो । अपि गाउँपालिकाले पालिकाभित्रका जुनसुकै होटेलमा तीन सय रुपियाँमा शाकाहारी खाना खुवाउनुपर्ने नियम चलाएको रहेछ । सबैजसो ठाउँमा सिमीको बाक्लो झोल, आलु तरकारी, भाँगोको अचार र भात पाइने रहेछ । एकाध ठाउँमा स्थानीय साग र सिस्नो पनि उपलब्ध थिए । होटेल सञ्चालक सबैमा व्यावसायिक विनम्रता पाइन्थ्यो । सबैजसो ‘खाना कस्तो छ, सुधानुपर्ने के छ भन्नुस् है’ भन्थे ।
पाँच दिनदेखि निरन्तर हिँडिरहे पनि राजकुमार र म अझै दुई घण्टा हिँडेर कालीढुङ्गा ताल पुग्ने योजनामा थियौँ । अरू त सबैले हात उठाइसकेका थिए । पछि राजकुमारले पनि मन मारेकाले एक्लै हिँड्ने जाँगर मलाई पनि भएन ।
काठमाडौँबाट हिँडेको पाँचौँ दिन भइसकेको थियो । चार दिनदेखि हामी निरन्तर पैदल हिँडिरहेका थियौँ । जेठ १२ गते बिहान घरबाट हिँडेका हामी हवाईजहाजबाट करिब १०:३० बजे धनगढी पुगेका थियौँ । धनगढीबाट निरन्तर गाडी चढेर रातको करिब ११ बजे गोकुलेश्वर बास, भोलिपल्ट बिहानै गाडी चढेर मकरीगाड, त्यहाँबाट पैदल हिँडेर पहिलो दिन नौपाटास्थित अपि गाउँपालिकाको कार्यालय, दोस्रो दिन सिती, तेस्रो दिन धौली ओडार र चौथो दिन दुई घण्टा हिँडेर अपि हिमालको आधार शिविर पुगेका थियौँ । खोलाको किनारैकिनार, भिरैभिर, वनैवन, हिउँ जमेको खोला, अनेकौँ उकालो–ओरालो हिँड्नुपर्दा हाम्रो समूहका महिला धेरै थाकेका थिए तर कसै गरी उहाँहरू गन्तव्यसम्मै पुग्नुभयो । सम्यक् स्मृति ध्यानको सूत्र बताएर सबैलाई ऊर्जा दिइरहने पत्रकार घनश्याम खड्का आफैँ ज्वरोले थलिएर सितीमै रोकिएका थिए ।
हाम्रा साथीमध्ये धेरै जसो धौलीओडारतिर फर्किसकेका थिए । पानी पर्ने छाँट देखेर हामी पनि ओरालो लाग्यौँ । अलि तल आउनेबित्तिकै मुसलधारे पानी बर्सन थालिहाल्यो । यार्चागुम्बा टिप्न जानेका अस्थायी छाप्रा र पाल बाटैभरि थिए । जति माथि गयो, त्यत्तिकै गुणस्तरीय यार्चा पाइने रहेछ । अतः ती दिनभरि यार्चा टिप्न माथि हिउँ जम्ने ठाउँसम्म पुग्थे । बेलुकी बास बस्न छाप्रामा फर्कन्थे । हामी रुझ्दै भिज्दै धौलीओडारस्थित बास बस्ने होटेल आइपुग्नेबित्तिकै पानी रोकियो । उत्तिसको काठले बनेको हामी बस्ने होटेल पालिकाले नै बनाएर एक जना व्यापारीलाई भाडामा चलाउन दिएको थियो । यो धौलीओडारस्थित सबैभन्दा स्तरीय होटेल थियो । बाहिर धारामा पानी यति चिसो थियो, धुँदा हातखुट्टा झर्ला झैँ हुन्थ्यो । चर्पी गएर दिसा धुनु महाभारत जिते सरह हुन्थ्यो ।
एक छिन आराम गरेर हामी फेरि भेडीखर्कनिरको बहुरानी हिमालको छाया देखिने पोखरी हेर्न हिँड्यौँ । हाम्रो होटेलबाट अलि दक्षिणतिर भेडीखर्क र थुप्रै छाप्रा थिए । नजिकै भलिबल खेलिरहेका युवा थिए । केही युवा सानदार स्पाइक गरिरहेका थिए । हलहलेको झाङ नाघ्दै हामी अघि बढ्यौँ । अलि तल निला प्लास्टिकका छाना भएका थुप्रै छाप्रा थिए । नजिकै भेडाबाख्राका बथान शान्तिपूर्वक चरिरहेका थिए । त्यहाँ नपुग्दै धापहरू नाघ्दै हामी पानी जमेको त्यो सानो पोखरी पुग्यौँ । त्यहाँ हिमालको छाया साँच्चिकै सुन्दर देखिन्थ्यो ।
अपिको आधार शिविर कसरी ?
पहिलो दिन– धनगढीबाट बिहानै गाडी चढेर डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर पुग्ने ।
दोस्रो दिन– दुई घण्टा गाडी चढेर मकरीगाड पुग्ने । सोही दिन पैदल हिँड्दै मकरीकोट हुँदै नौपाटा पुगेर बास ।
तेस्रो दिन– नौपाटाबाट धनबोरा, घुसा हुँदै नालीमा खाना खान पुग्ने । त्यहाँबाट दुई घण्टा हिँडेर सिती होमस्टेमा बास ।
चौथो दिन– बिहानै हिँडेर आरुबोड, अपि नाम्पा संरक्षण क्षेत्र हुँदै छिरछिरेमा खाना खान पुग्ने । त्यहाँबाट सिमार, दामल, खायकोट हुँदै धौलीओडार बास बस्न पुगिन्छ ।
पाँचौँ दिन– झिसमिसेमै उठी झुल्के घाममा झल्कने अपि हिमाल हेर्न डेढ घण्टा उत्तरपूर्वतिर हिँडेर आधार शिविर पुग्ने । चमेली नदीको मुहान पुगेर हरियो चौरको फन्का लगाउनुको मजा बेग्लै हुन्छ । आधार शिविरको होटेलमा खाना खाएर कालीढुङ्गा र रिङ्देताल पुग्न सकिन्छ ।
काठमाडौँबाट जाँदा १० दिन छुट्याउन सके मकरीगाडदेखि आधार शिविरसम्मका सबै ठाउँबारे बुझ्दै, रमाउँदै जान सकिन्छ ।