• १६ असार २०८१, आइतबार

दलित समुदायले कर्मकाण्ड तालिम लिँदै

blog

तनहुँ समाचारदाता 

तनहुँ, असार १४ गते ।  नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् । 

धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न थालेका छन् ।  वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहित नपाएपछि समस्या उत्पन्न हुन थालेपछि दलित समुदायले आफैँ वैदिक कर्मकाण्ड तालिम सिक्न थालेका हुन् । 

व्यास नगरपालिकाको आर्थिक सहयोगमा मङ्गलबारदेखि छ दिने तालिम लिन थालेका छन् । व्यास नगरपालिका–८, बर्लाचीका काजी परियारले घरमा पूजा लगाउन बाह्मण पुरोहितलाई भन्न जाँदा आउँछु भनेर पछि नआएको बताउनुभयो । काजीले भन्नुभयो, “बाह्मण पुरोहित आउँछु भनेपछि सत्यनारायणको पूजा तयारी गरेँ तर व्यवहारमा छुवाछूत नहटेकाले उहाँ आउनुभएन ।” तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कुनै पनि किसिमका छुवाछूत भेदभाव हुन हुँदैन भन्ने मान्यता रहे पनि व्यवहारमा अहिले पनि समस्या भएकाले यसको अन्त्यका लागि पहलकदमी गरिरहेको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा नगरप्रमुखको अध्यक्षतामा व्यास नगर दलित समन्वय समितिमार्फत जातीय भेदभावमुक्त नगर बनाउन लागि परेको उहाँले बताउनुभयो । 

व्यास नगरपालिका कार्यपालिकाको सदस्य चन्द्रमाया परियार, दलित जागरण तथा सशक्त समिति व्यास नगरपालिकाका संयोजक कृष्ण रुचाल, पण्डित विजयराज भट्टराई, नेपाल दलित पत्रकार सङ्घ तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, व्यास नगरपालिकाको वडा सदस्य राधा विक, दलित पुरोहित अर्जुन सुनारलगायतले व्यवहारमा छुवाछूत अन्त्य नभएको दलित समुदाय अझै अपहेलित भएर बस्न बाध्य भएकाले जनचेतनाका कार्यक्रमलाई व्यापकता दिन जरुरी रहेकोमा जोड दिनुभयो । सगुन मल्टी मिडिया प्रालि दमौलीले गरेको तालिममा २० जना सहभागी छन् । तालिममा सहभागीले तालिम छोटो भएकाले आगामी दिनमा लामो राखेर धेरै ज्ञान दिने वातावरण बनाउनुपर्ने माग राखेका थिए ।